काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनको परिणामबाट गम्भीर आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै पोखरेलले पुनर्गठनलाई नेतृत्व परिवर्तनमा मात्र सीमित गर्न नहुने बताए। पार्टीभित्रको असमझदारीलाई विग्रहमा बदल्न नदिई सुधारसहितको एकता कायम गर्नुपर्ने उनको भनाइ छ।
उनले जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्नु र जनतासँगको सम्बन्ध कमजोर हुनु निर्वाचन परिणामको प्रमुख कारण रहेको बताए। बदलिँदो समाज, युवा पुस्ताको अपेक्षा र सूचना प्रविधिको प्रभावलाई बुझेर पार्टीको वैचारिक धारलाई परिष्कृत गर्नुपर्ने उनले बताए। पोखरेलले पार्टीसँग कमजोरी पहिचान गर्ने र त्यसबाट सिकेर सुधार गर्ने सामर्थ्य रहेको उल्लेख गर्दै अब योजना बनाउनेभन्दा त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
उनले पार्टीभित्र खुला बहस आवश्यक भए पनि निर्णयपछि त्यसलाई सामूहिक रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे। कमिटी बलियो बनाउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने र कार्यकर्तामा विश्वास तथा उत्साह जगाउने कामलाई प्राथमिकता दिनुपर्ने पोखरेलको भनाइ छ।






