झाँक्रीको प्रश्न : एमालेको कमजोरीको दोष एक व्यक्तिलाई मात्रै थोपर्न मिल्छ?

७ असोज ८३, बुधबार
Share this
724shares

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दा कमजोरीको दोष एक व्यक्तिमाथि मात्रै थोपर्न नहुने बताएकी छन्। उनले पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल गठन गर्ने निर्णय नै गलत भएको टिप्पणी गर्दै त्यसले तल्लो तहका कार्यकर्तासम्म अनावश्यक रूपमा दुई ध्रुव सिर्जना गरेको बताइन्। केन्द्रीय सदस्यहरूले आफ्नो धारणा पार्टीको औपचारिक बैठकमा राख्नुपर्नेमा कार्यदल गठन गरेर फरक परिस्थिति सिर्जना गरिएको उनको भनाइ छ।

Advertisement

झाँक्रीले कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक हुन नसकेको विषयमा पनि प्रश्न उठाएकी छन्। अध्यक्ष वा पदाधिकारीले प्रतिवेदन स्वीकार नगरेपछि कार्यदल गठनको औचित्यमाथि नै प्रश्न उठ्ने उनको तर्क छ।उनले भदौ २३ र २४ को घटनापछि महाधिवेशन गरेर नेतृत्व चयन गरी निर्वाचनमा गएको स्मरण गर्दै निर्वाचनमा पार्टीले महाधिवेशनका साझा निष्कर्ष र राजनीतिक विचार बोकेर जान सकेको कि नसकेको समीक्षा गर्नुपर्ने बताइन्।

‘महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास भएको थियो। तर निर्वाचनमा जाँदा त्यो राजनीतिक स्पिरिट किन बोकिएन? समस्या कहाँ थियो?’ उनले प्रश्न गरिन्।निर्वाचनपछि छोटो समयमै ‘हारको जिम्मेवारी अध्यक्षले लिनुपर्छ’, ‘विशेष महाधिवेशन गर्नुपर्छ’ र ‘अध्यक्ष रहँदासम्म पार्टी बनाउन सकिँदैन’ भन्ने भाष्य निर्माण भएको भन्दै उनले त्यसको राजनीतिक औचित्यमाथि पनि प्रश्न उठाइन्। सबै दोष अध्यक्षलाई थोपरेर बिदा गर्नुपर्ने सन्देश माथिदेखि तलसम्म पुर्‍याइएको भन्दै उनले यो सही राजनीतिक विश्लेषण र निष्कर्ष हो कि होइन भन्ने समीक्षा आवश्यक रहेको बताइन्।

Advertisement

झाँक्रीले बदलिँदो समाज, पुस्तान्तरण र डिजिटल प्रविधिले जनमत तथा निर्वाचनमा पार्ने प्रभावबारे पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। फेसबुक, मेटा, टिकटक र एक्सजस्ता प्लेटफर्मका अल्गोरिदम, बट तथा डिजिटल अभियानमार्फत दल वा नेताप्रति घृणा फैलाउन सकिने अवस्था आफ्नै अनुभवबाट देखिएको उनको भनाइ छ।

उनले राज्यको सार्वभौमसत्तासँगै ‘इन्टरनेट सोभरेन्टी’ र ‘स्पेस सोभरेन्टी’ जस्ता नयाँ चुनौतीमा समेत पार्टीले रणनीति बनाउनुपर्ने बताइन्।‘हामी कम्युनिष्ट पार्टी मात्र होइन, देशभक्त शक्ति पनि हौं। बदलिँदो प्रविधि र विश्व राजनीतिका चुनौती सामना गर्न नसक्ने हो भने हामी कसरी बाँच्छौं? कसरी टिक्छौं?’ उनले प्रश्न गरिन्।

Advertisement

गत वर्ष भदौमा भएको गोदावरी विधान सम्मेलनमा अध्यक्षका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान हटाउने प्रस्ताव सर्वसम्मत पारित भएको स्मरण गर्दै झाँक्रीले त्यसको एक सातामै विशेष महाधिवेशनको माग गर्नु राजनीतिक रूपमा उचित थियो कि थिएन भन्ने प्रश्न पनि उठाइन्।भदौ २३ को घटनापछि तत्कालीन मन्त्रिपरिषद्का सदस्य र केन्द्रीय पदाधिकारीहरू अध्यक्षसँगै उभिएर त्यसको सामना गर्ने रणनीति बनाउन एकताबद्ध भएका थिए कि थिएनन् भन्ने विषयमा पनि समीक्षा हुनुपर्ने उनले बताइन्। नयाँ सरकार गठन भएकै रात अध्यक्षमाथि राजनीतिक प्रतिशोध साध्ने काम हुँदा पार्टी कहाँ उभिएको थियो भन्ने प्रश्न पनि उनले उठाइन्।

भदौ २३ पछिको राजनीतिक भाष्यमा पार्टीको पक्षधरता कमजोर देखिएको उनको टिप्पणी छ। ‘विद्यार्थी मार्‍यो, यो सरकार हत्यारा हो’ भन्ने भाष्य निर्माण हुँदा त्यसको प्रतिवाद गर्न नसक्दा जनमतमा असर परेको हुन सक्ने उनको भनाइ छ।झाँक्रीले एमाले महासचिवको राजनीतिक विश्लेषणसँग आफू धेरै हदसम्म सहमत रहेको बताउँदै परिस्थिति किन र कसरी बदलियो भन्ने विषयमा थप गहिरो विश्लेषण आवश्यक रहेको बताइन्। विचार, संगठन, नीति र रणनीतिमा कहाँ कमजोरी भयो भन्नेबारे समीक्षा गर्नुपर्ने उनको भनाइ छ।उनले संसदीय संघर्षलाई संघर्षको मूल थलो मान्दै जाँदा पार्टी, जनसंगठन र जनवर्गीय संगठनको भूमिकाभन्दा व्यक्तिको चुनावी लोकप्रियतालाई बढी महत्व दिन थालिएको बताइन्। यसले पार्टीभित्रै डाहा, रिस र द्वेष बढाएको उनको टिप्पणी छ।

‘पार्टी कामको महत्व चुनाव जित्न मात्र बन्यो। सामाजिककरणको प्रक्रियामा पार्टी भेटिएन। धारा, पानी, बिजुली, बाटो अनि तिलस्मी नेतृत्व र भगवान बनाउन थाल्यौं। बाँकी चुनाव नलड्ने औकात नभएकाहरू भनेर हेप्न थालियो,’ उनले भनिन्।पार्टीभित्रको ठूलो ग्याप यही रहेको भन्दै झाँक्रीले कमजोरीको सामूहिक समीक्षा र सामूहिक रूपमा त्यसको सामना गर्नुपर्नेमा जोड दिइन्।‘दोष एक व्यक्तिलाई थोपर्ने होइन, कमजोरीको सामूहिक समीक्षा र सामूहिक सामना गरौं,’ उनले भनिन्। मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा गम्भीर वैचारिक काम गर्दै पार्टीलाई अझ एकताबद्ध, वैचारिक र देशभक्त शक्तिका रूपमा अगाडि बढाउनुपर्ने उनको धारणा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top