काठमाडौं । असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिएको छ। गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई प्रवाह गर्नुपर्ने सूचना तथा आवश्यक परे सवारी आवागमन बन्द गर्ने लगायतका विषयमा छलफल भएको हो।
छलफलमा गृह मन्त्रालय, मौसम तथा जल विज्ञान विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत निकायका प्रतिनिधिको सहभागिता थियो।
काठमाडौं बाहेकका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल माध्यमबाट छलफलमा सहभागी भएका थिए। छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रमा सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारीमा रहन आग्रह गरे।सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकायबीच समन्वय बढाउन, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्न तथा आवश्यक अवस्थामा तत्काल उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे।






