१० असोज , काठमाण्डौ ।
देशभर अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासमा रहेको बलियो न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका अधिकांश भूभागमा मौसम बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतमा विकसित उक्त न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेको छ। आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहे पनि त्यसको प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, चट्याङ, हावाहुरी तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना कायमै रहेको छ।

हाल देशभरको अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। यस्तै कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
वर्षाको प्रभाव विशेषगरी पहाडी तथा हिमाली भूभागमा बढी देखिएको छ। कतिपय स्थानमा चट्याङसहित वर्षा भइरहेकाले यात्रा गर्दा तथा खुला स्थानमा काम गर्दा सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम अधिकांशतः बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
मौसम प्रणाली सक्रिय रहेकाले केही स्थानमा वर्षाको मात्रा सामान्यभन्दा बढी हुन सक्ने देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षासँगै मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राति पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश समय बादल लाग्नेछ भने कोशी र मधेस प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।
तराई क्षेत्रमा समेत वर्षाको प्रभाव रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा बागमती प्रदेशको तराई भूभागका धेरै स्थानमा वर्षा हुन सक्ने अनुमान छ। मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ। लगातार वर्षा हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने र सडक यातायात प्रभावित हुन सक्ने अवस्था रहेको छ।
विशेषगरी भारी वर्षाको सम्भावना रहेका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।
चट्याङ र हावाहुरीको सम्भावना भएका बेला खुला ठाउँ, रुखमुनि तथा जोखिमयुक्त संरचनामा नबस्न पनि सावधानी अपनाउनुपर्ने देखिएको छ। सडकमा यात्रा गर्नेहरूले वर्षाका कारण सडक चिप्लो हुने तथा कतिपय स्थानमा पानी जम्न सक्ने अवस्थालाई ध्यान दिनुपर्नेछ।
यद्यपि भारततर्फ रहेको न्यून चापीय प्रणाली आगामी १२ घण्टामा कमजोर हुँदै जाने अनुमान गरिएको छ। तर यसको प्रभाव पूर्णरूपमा हट्न समय लाग्न सक्ने भएकाले तत्कालै देशभर मौसम सफा हुने अवस्था भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसममा आएको परिवर्तनसँगै वर्षाको मात्रा र क्षेत्र समयअनुसार फरक पर्न सक्ने भएकाले नागरिकले नियमित रूपमा मौसम पूर्वानुमान तथा चेतावनीसम्बन्धी सूचना हेर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनालाई ध्यान दिन आवश्यक देखिएको छ।



