बाढीपहिरोको बढ्दो जोखिम : २५ जिल्लामा दुई दिन सवारी रोकियो

१० असोज ८३, शनिबार
Share this
725shares

१० असोज , काठमाण्डौ ।

Advertisement

लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाब बढ्दा तटीय क्षेत्रका बस्ती डुबानको जोखिममा परेका छन् भने पहाडी तथा ग्रामीण क्षेत्रमा बाढी, पहिरो र लेदोका कारण सडक तथा यातायात अवरुद्ध हुन थालेका छन्।

वर्षा अझै केही दिन जारी रहने पूर्वानुमानसँगै सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले सुरक्षा तथा उद्धार संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ। जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालनदेखि नागरिकलाई सुरक्षित स्थानमा सार्ने र सम्भावित विपत्मा तत्काल उद्धार गर्न आवश्यक तयारी तीव्र पारिएको छ।

Advertisement

गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मुख्यालय आसपासको क्षेत्रमा पुगेर खोला तथा पानीको बहाबको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
वर्षाका कारण जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शनिबारपनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तरअनुसार यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। प्राधिकरणका अनुसार यातायात पूर्ण रूपमा बन्द भएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर छन्।

Advertisement

त्यस्तै कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेतमा पनि दुई दिन सवारी आवागमन रोक्न भनिएको छ। लुम्बिनी प्रदेशका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी अत्यधिक वर्षाको सम्भावना रहेका थप ३० जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न भनिएको छ। बाँकी २२ जिल्लामा पनि वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मधेश प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुलीसमेत छन्।

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना हुन थालेका छन्। मकवानपुरगढीमा खोलाले बगाउँदा ५० वर्षीय श्यामबहादुर स्याङ्तानको मृत्यु भएको खबर छ। भक्तपुरको लोकन्थलीमा हनुमन्ते खोलामा आएको बाढीका कारण डुबानको जोखिम बढेपछि १६ घरपरिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

त्यस्तै नवलपरासी पश्चिममा नारायणी नदीको पानी बस्तीमा पसेपछि करिब चार सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकाका मनोहरा, बागमती र विष्णुमतीलगायत नदी तथा खोलामा पानीको बहाब बढेको छ।

त्यसपछि नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। रसुवा, धादिङ, चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड तथा काभ्रेको रोसी गाउँपालिकालगायतका क्षेत्रमा बाढीपहिरोका कारण जनजीवन प्रभावित बनेको छ।

सिन्धुलीमा रोसी खोलामा आएको बाढीले बस्ती प्रभावित भएको छ भने ओखलढुङ्गाका विभिन्न स्थानमा लेदोसहितको बाढी आएपछि आवतजावतमा कठिनाइ भएको छ। यता मनाङको चामे–बेँसीसहर सडक, गुल्मीको सिस्नेभिर–रुद्रबेनी–वामीटक्सार तथा रोल्पाको घोराही–थबाङ–रुकुम सडकखण्डका विभिन्न स्थान बाढीपहिरोका कारण प्रभावित भएका छन्।

पाल्पामा पहिरोले दुई घरमा क्षति पु¥याउनुका साथै एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ। सोलुखुम्बुमा बाढीपहिरो र हिमपहिरोको जोखिममा रहेका ३८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
चार दिनसम्म वर्षा हुने पूर्वानुमानसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सुरक्षा तथा उद्धार संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ।

विपत् आइपरेलगत्तै खोज तथा उद्धार, राहत तथा उपचारमा परिचालन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब २६ हजार सुरक्षाकर्मी आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएका छन्।

नेपाली सेनाले काठमाडौं, सुर्खेत, धनगढी र रुपन्देहीमा हवाई उद्धार टोलीलाई आवश्यक हवाई साधनसहित तयारी अवस्थामा राखेको छ। सेनाका सबै पृतना तथा गणलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार थप सात हजार पाँच सय २४ जनाको विपत् प्रतिकार्य टोली पनि तयारी अवस्थामा राखिएको छ।

सम्भावित विपत्का घाइतेको तत्काल उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी तथा सातै प्रदेशमा रहेका सैनिक फिल्ड अस्पतालमा आकस्मिक स्वास्थ्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरी बलले पनि जोखिमयुक्त क्षेत्रमा १० हजार पाँच सय ८५ सुरक्षाकर्मी परिचालन गरेको छ।

उद्धारका लागि ८२ वटा ¥याफ्ट बोट, ५३ वटा मोटरबोट तथा तालिमप्राप्त गोताखोर, मेडिकल र ड्रोन टोली तयारी अवस्थामा राखिएको छ । नेपाल प्रहरीले पनि आठ हजार एक सय १० प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ।

सम्भावित विपत् प्रभावित क्षेत्रमा तत्काल पुगेर उद्धार गर्न सक्ने गरी प्रहरी संयन्त्रलाई तयारी अवस्थामा राखिएको हो। बागमती प्रदेशका रोसी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेश प्रदेशका कमला, चारनाथ, बलान र बिहुल नदीका तटीय क्षेत्रमा माइकिङ तथा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।

वर्षा निरन्तर भइरहेका कारण नदी तथा खोलामा पानीको बहाब थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ। नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र जोखिमपूर्ण अवस्थामा सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

काठमाडौं उपत्यकाका १८ नगरपालिकाले पनि डुबान तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी तीव्र पारेका छन्। स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरकारी संयन्त्रबीच समन्वय बढाएर सम्भावित विपत्को सामना गर्ने तयारी गरिएको छ।

यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थालाई उच्च सतर्क अवस्थामा राख्दै जोखिमयुक्त जिल्लामा औषधि, स्वास्थ्य सामग्री तथा आवश्यक जनशक्ति पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top