राजधानीमा ग्यास र तरकारी आपूर्ति ठप्पजस्तै, भाउ आकाशियो

१० असोज ८३, शनिबार
Share this
761shares

१० असोज , काठमाण्डौ ।

Advertisement

बिहीबारदेखि लगातार परेको वर्षाले राजधानी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित हुन थालेको छ। सडक अवरोधको सबैभन्दा प्रत्यक्ष असर खाना पकाउने एलपी ग्यास र तरकारीको आपूर्तिमा देखिएको छ।

ग्यासको आपूर्ति यसअघि नै असहज भइरहेका बेला मुख्य राजमार्गमै अवरोध भएपछि उपत्यकाका उपभोक्ताले थप सास्ती खेप्नुपर्ने अवस्था बनेको छ। भारतबाट आयात हुने ग्यासको परिमाण बढाएर आपूर्ति सहज बनाउने सरकारी प्रयास भइरहेका बेला सडक अवरुद्ध भएपछि भन्सार पास भएका ग्यासका बुलेटसमेत उद्योगसम्म पुग्न नसक्ने अवस्थामा पुगेका छन्।

Advertisement

यसले बजारमा ग्यासको उपलब्धता थप प्रभावित हुने जोखिम बढाएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आपूर्ति सहज बनाउन भइरहेका प्रयासमा सडक अवरोधले थप चुनौती सिर्जना गरेको बताए। उनका अनुसार भारतबाट आयातको परिमाण बढाएर बजारमा आपूर्ति सुधार्ने प्रयास भइरहेको थियो।

तर, यही समयमा मुख्य सडक अवरुद्ध भएपछि ग्यास उद्योगसम्म पु¥याउन कठिनाइ भएको हो। शुक्रबार मात्रै काठमाडौं उपत्यकाका विभिन्न डिलरमार्फत ४० हजारभन्दा बढी ग्यास सिलिन्डर वितरण गरिएको छ। तर, बजारको मागअनुसार आपूर्ति नियमित हुन सडक खुल्नु आवश्यक देखिएको छ।

Advertisement

आयल निगम र ग्यास उद्योगीबाट प्राप्त विवरणअनुसार शुक्रबार वीरगन्ज नाकाबाट ग्यास बोकेका ४८ वटा बुलेट भन्सार जाँचपास भएका छन्। तीमध्ये २९ वटा बुलेट धादिङ, काभ्रे, काठमाडौं र ललितपुरमा रहेका ग्यास उद्योगका लागि हुन्। यी उद्योगबाट ग्यास भरेर काठमाडौं उपत्यकामा पठाउने गरिन्छ।

तर, भन्सार जाँचपास भएर पनि अधिकांश बुलेट उद्योगसम्म पुग्न सकेका छैनन्। मुख्य सडक अवरुद्ध हुँदा भन्सारबाट छुटेका ग्यासका बुलेट बाटोमै रोकिएका छन्। शुक्रबार वीरगन्ज भन्सारबाट काठमाडौंको बालाजुस्थित नेपाल ग्यासका लागि सबैभन्दा धेरै सातवटा बुलेट जाँचपास भएका थिए।

नेपाल ग्यासको नारायणी र गण्डकी शाखाका लागि थप एक–एक बुलेट पनि भन्सार पास भएका छन्। त्यस्तै, ललितपुरको चल्नाखेलमा रहेको एभरेस्ट ग्यासका दुईवटा तथा धादिङमा उद्योग रहेको साल्ट ट्रेडिङको एसटिसी ग्यास, श्री ग्यास र सुगम ग्यासका तीन–तीनवटा बुलेट भन्सारबाट पास भएका छन्। तर, तीमध्ये अधिकांश बुलेट अझै प्लान्टसम्म पुग्न सकेका छैनन्।

त्यसैगरी एचपीका दुई, श्रीमायाको एक, नमस्तेको एक, राजधानीको एक, श्रीरामका दुई, श्रीकृष्णको एक, सूर्यका दुई र लोकप्रियको एक ग्यास बुलेट पनि वीरगन्ज भन्सारबाट पास भएका छन्। तर, सडक अवरोधका कारण ती बुलेट पनि बाटोमै रोकिएका छन्।

ग्यासको आपूर्तिसँगै काठमाडौंको भान्सामा अर्को ठूलो असर तरकारीमा देखिन थालेको छ। लगातारको वर्षाका कारण उपत्यकामा तरकारी आपूर्ति गर्ने सबैभन्दा ठूलो थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक भित्रिने तरकारीको परिमाण उल्लेख्य घटेको छ।

वर्षा सुरु हुनुअघि कालीमाटी बजारमा दैनिक औसत सात लाख किलो तरकारी भित्रिने गरेको थियो। समितिको तथ्यांकअनुसार मंगलबार सात लाख नौ हजार किलो र बुधबार सात लाख ३१ हजार किलो तरकारी बजारमा भित्रिएको थियो।

तर, बिहीबार यो परिमाण घटेर ६ लाख ५६ हजार तीन सय आठ किलोमा झरेको छ। शुक्रबार दिउँसोसम्म भने तरकारीको आगमन थप ३० प्रतिशतसम्म घटेको व्यवसायीले बताएका छन्। आपूर्ति घट्दै गएपछि बजारमा तरकारीको मूल्य भने एकै दिनमा अस्वाभाविक रूपमा बढेको छ।

कालीमाटी बजारको तथ्यांकले नै धेरै प्रकारका तरकारीको मूल्यमा उल्लेख्य वृद्धि भएको देखाएको छ। गोलभेँडाको मूल्य पनि एकै दिनमा २६ प्रतिशतले बढेको छ। त्यस्तै आलुको मूल्य पनि बढेको छ। धार्नीको १२० रुपैयाँ रहेको आलुमा २० रुपैयाँसम्म वृद्धि भएको छ।

काउलीको मूल्य ३३ प्रतिशतसम्म बढेर बिहीबार ९७ रुपैयाँ रहेकोमा शुक्रबार १२८ रुपैयाँ पुगेको छ। मुला, भेन्टा, बोडी र भिन्डीको मूल्य २२ देखि २८ प्रतिशतसम्म बढेको छ। भटमास कोसाको मूल्य एकै दिनमा ६५ प्रतिशतसम्म बढेको छ। सडक अवरोधको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको तरकारी बजारमा देखिएको हो ।

आपूर्ति घट्दा मूल्य बढेको छ भने सडक लामो समय अवरुद्ध भए तरकारीको अभाव थप बढ्न सक्ने व्यवसायीको चिन्ता छ। तर, पेट्रोल, डिजेल र हवाई इन्धनको आपूर्तिमा भने तत्काल समस्या नहुने नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार थानकोटमा पेट्रोल र डिजेलको करिब १० दिनलाई पुग्ने मौज्दात छ।

हवाई इन्धनको मौज्दात पनि पर्याप्त रहेको निगमको हवाई इन्धन कार्यालय, सिनामंगलले जनाएको छ । दैनिक करिब पाँच लाख लिटर हवाई इन्धन खपत हुने गरेकोमा करिब १५ दिनलाई पुग्ने मौज्दात छ।‘दैनिक पाँच लाख लिटर हवाई इन्धन खपत हुने गरेको छ। यो हिसाबले १५ दिनलाई पुग्ने मौज्दात छ,’ यादवले भने, ‘मुख्य राजमार्ग लामो समयसम्म अवरोध भएको खण्डमा वैकल्पिक मार्गबाट पनि ल्याउन सकिन्छ।’

कृष्णभिरको पहिरो खुलेपछि चाडबाडलाई लक्षित गर्दै तराई र भारतबाट पर्याप्त खाद्यान्न काठमाडौं ल्याएर मौज्दात राखिएको छ। त्यसैले सडक अवरोध लम्बिए पनि तत्काल खाद्यान्न अभाव हुने अवस्था भने छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top