१२ असोज , काठमाण्डौ ।
जापानमा जारी २० औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भोलि श्रीलंकोका सामना गर्दैछ । समूह ‘ए’ को विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको नेपालका लागि यो वास्तविक परीक्षा पनि हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन हुँदा तीन अंक जोड्दै समूह विजेता बनेको हो ।
अब नेपाली दर्शकले प्रतिक्षा गरेको श्रीलंकासँग यो खेल मंगलबार बिहान नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुँदैछ । यी दुई टोलीबिच टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुनै पुरा खेल भएको इतिहास छैन । सन् २०२४ को टी–२० विश्वकपमा एउटै समूहमा रहे पनि अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल वर्षाका कारण टस नै नभई रद्द भएको थियो । त्यसैले यो भिडन्त नेपालका लागि ठुलो परीक्षा हुनेछ ।

आइसिसीको पछिल्लो पुरुष टी–२० वरीयतामा श्रीलंका नवौँ स्थानमा छ भने नेपाल १४ औँ स्थानमा छ । वरीयता र अन्तर्राष्ट्रिय अनुभवका आधारमा श्रीलंका नेपालभन्दा ५ स्थान माथि छ । विश्व क्रिकेटका शीर्ष टोलीसँग निरन्तर प्रतिस्पर्धा गरेको ठुलो अनुभव हुनु श्रीलंकाको मुख्य बलियो पक्ष हो ।
तर, एसियाडअघि इङ्ल्यान्डसँगको टी–२० शृङ्खलामा ‘क्लिन स्विप’ व्यहोरेकाले श्रीलंकाली टोली दबाबमा छ । नेपालले भने टी–२० ढाँचामा लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको छ । सिंगापुरमा भएको एसियाड छनोटमा चीनविरुद्ध ३१३ र मलेसियाविरुद्ध २७५ रनको ठुलो स्कोर खडा गर्दै नेपालले आफ्नो आक्रामक ब्याटिङ क्षमता सिद्ध गरिसकेको छ ।

एसियाडमा पनि नेपालले त्यही लयलाई निरन्तरता दिँदै समूह ‘ए’ को पहिलो खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई १०२ रनमा रोकेर ५ विकेटको जित निकाल्यो । दोस्रो खेलमा जापानविरुद्ध १५ ओभरमा १४९ रन बनाउँदै नेपाल समूह विजेता बनेको हो । ब्याटिङतर्फ नेपालका सन्दीप जोरा र लोकेश बम उत्कृष्ट फार्ममा छन् भने बलिङमा कुशल भुर्तेल, ललित राजवंशी र सन्दीप लामिछानेजस्ता बलर टोलीको मुख्य शक्ति हुन् ।
नेपालले यसअघि एसीसी पुरुष प्रिमियर कप जित्दै सन् २०२७ को एसिया कपमा स्थान पक्का गरिसकेको छ । वरीयतामा श्रीलंका अगाडि भए पनि नेपालको पछिल्लो लय र श्रीलंकाको खस्किँदो नतिजाले मंगलबारको क्वाटरफाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपालले यही लय कायम राख्न सके श्रीलंकालाई पाखा लगाउँदै सेमिफाइनल पुग्ने र पदकको सम्भावना जीवित राख्ने बलियो अवसर छ ।
अर्थात नेपालका लागि श्रीलंकासंगको खेल एसियाडमा पदकको यात्राका लागि निर्णायक बन्नेछ । यता श्रीलंका वरीयताका आधारमा सोझै क्वार्टरफाइनल पुगेको टोली हो । त्यसैले नेपालले समूह चरणमा दुई खेल खेल्दा श्रीलंकाले प्रतियोगितामा अहिलेसम्म कुनै खेल खेलेको छैन ।
नेपालले अघिल्लो अर्थात १९ औं एसियाली खेलकुदमा पनि पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलेको थियो । चीनको हाङझाउमा भएको प्रतियोगितामा नेपाल भारतसंग पराजित भएको थियो । यसपटक भने परिस्थितिमा केही फरक छ। नेपाल समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको छ ।
अब श्रीलंकालाई पराजित गर्न सके नेपाल एसियाड पुरुष क्रिकेटको सेमिफाइनलमा पुग्नेछ । पराजय भएभने घर फर्किनुपर्नेछ । नेपालको क्रिकेटले यसै वर्ष अर्को ठूलो उपलब्धि पनि हासिल गरिसकेको छ । एसीसी पुरुष प्रिमियर कपको उपाधि जित्दै नेपालले सन २०२७ को एसिया कपमा स्थान सुरक्षित गरेको छ ।
फाइनलमा नेपालले यूएईलाई ४४ रनले हराएको थियो । त्यो प्रतियोगितामा सन्दीप लामिछानेले सर्वाधिक १७ विकेटसहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । यसअर्थमा श्रीलंकासंको क्वार्टरफाइनल नेपालका लागि एउटा खेलमात्र होइन, पछिल्लो समय छोटो ढाँचामा बनाउँदै आएको यात्राको अर्को ठूलो परीक्षा पनि हो ।
मंगलबारको खेलमा श्रीलंकासंग पहिलो पूरा टी २० अन्तर्राष्ट्रिय भेटमै जित निकाल्ने र एसियाडमा क्रिकेटतर्फ पदकको सम्भावना जीवित राख्ने नेपालको लक्ष्य स्पष्ट हुनेछ । यद्यपि जापानमा जारी एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगितामा वर्षा वाधक बनेको छ ।
वर्षाका कारण क्वार्टरफाइनलका दुई खेलहरू आज रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा प्रवेश गरेका छन् । आईसीसी वरियतामा माथिल्लो स्थानमा रहेका आधारमा यी दुवै टोलीले खेल नै नखेली सेमिफाइनलको टिकट पक्का गरेका हुन् । भारतको भिडन्त अफगानिस्तानसँग थियो भने पाकिस्तानको हङकङसँग ।
तर लगातार पानी परेकाले दुवै म्याचमा एक बल पनि फ्याँकिन सकेन । भोलि हुने नेपाल र श्रीलंकाको म्याचमा पनि बर्षाको जोखिम उच्च छ । यदि परिणाम आउन सकेन भने वरियताका आधारमा श्रीलंका सेमिफाइनलमा पुग्छ र नेपाल घर फर्किन्छ । पदकको सम्भावना दुर्भाग्यपूर्णरुपमा समाप्त हुने छ ।
जापानको मौसम पूर्वानुमान अनुसार मङ्गलवार पानी पर्ने सम्भावना निकै उच्च (८० देखि १०० प्रतिशत) रहेको छ। विभिन्न मौसम एजेन्सीहरूका दिनभरि बेलाबेलामा वर्षा हुने सम्भावना ८०–९८ प्रतिशतसम्म छ । केही पूर्वानुमानले ६–२० मिलिमिटरसम्म वर्षा हुनसक्ने जनाएका छन् ।
जापानको स्थानीय समय अनुसार बिहान ९ बजेका लागि तय गरिएको यो खेलको सुरुवाती समयमा पानी पर्ने सम्भावना बढी छ । यद्यपि, बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म मौसममा केही सुधार आउन सक्ने र आउटफिल्ड राम्रोसँग ओभानो बनाउन सकिएमा ओभर घटाएर (कम्तीमा १०–१० ओभरको) खेल खेलाउन सकिने आशा भने बाँकी नै छ ।
म्याच सुरु भएपछि वा केही ओभर खेलेपछि रद्द भएमा नतिजा आउन सक्छ । हालै भारत र जापानले वर्षाले प्रभावित म्याचमा ५–५ ओभर खेलेका थिए । आइसीसीको नियम अनुसार नतिजा आउनका लागि ५–५ ओभरको खेल हुनुपर्छ । अन्यता म्याच रद्द गरिने प्रावधान छ ।



