नेतन्याहुले ‘यूएईको गोप्य भ्रमण गरेको’ खुलासा, राष्ट्रपतिसँग इरानबारे छलफल

१३ असोज ८३, मंगलबार
Share this
772shares

१३ असोज , काठमाण्डौ ।

Advertisement

अमेरिकासंग युद्धमा रहेको इरानले आफूलाई अन्यले विश्वको चौथो महाशक्तिका रुपमा हेरेपनि उसले आफैलाई भने पहिलो शक्ति प्रस्तुत गरेको छ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको सन्देशमा यो कुरा भनिएको हो ।

जुन सर्वोच्च नेताको वेबसाइटमा प्रकाशन भएको छ । उनको सन्देशमा ’तेल उद्योगको राष्ट्रियकरण र अमेरिकी विद्रोहसँग सम्बन्धित घटना’ साथै इराकसँगको युद्धको कुरा उल्लेख छ । सन्देशमा भनिएको छ, ’देश अब यस्तो अवस्थामा पुगेको छ, जहाँ आक्रमणकारीहरू आफैँ इस्लामका योद्धाहरूको आक्रमणबाट बच्न खोजिरहेका छन् र युद्ध त्याग्न बिन्ती गरिरहेका छन्।’

Advertisement

उनले भनेका छन्, ’आज केही मानिस हामीलाई विश्वको चौथो महाशक्ति मान्छन् । यद्यपि न्याय स्थापित गर्ने इरान विश्वको पहिलो शक्ति हो।’ लामो लिखित सन्देशको अर्को भागमा उनले भनेका छन्, ’म इरानका प्रिय जनताको सेवकका रूपमा घोषणा गर्दछु– हाम्रो शत्रु फर्कन चाहेको युग बितिसकेको छ। त्यो युग कहिल्यै फर्कने छैन।’

मोज्तबा खामेनी आफ्ना बुबा अयातुल्लाह अली खामेनीको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छैनन् । सर्वोच्च नेता अहिलेसम्म सार्वजनिक रूपमा नदेखिनुको कारण असुरक्षा भएको दाबी इरानी अधिकारीहरू गर्छन् ।

Advertisement

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले उनीसँग अहिलेसम्म दुईपटक भेट गरिएको बताएका छन् । यसैबीच यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग छलफल गरेको खुलासा भएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनले यस विषयमा जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै यो भ्रमणबारे खुलासा गरेको हो । सीएनएनले दुई नेताबिचको कुराकानी मुख्य रूपमा इरानसम्बन्धी क्षेत्रीय चिन्तामा केन्द्रित भएको उल्लेख गरेको छ।

तर यो गोप्य भ्रमण भएको कुरा इजरायली प्रधानमन्त्रीको कार्यालय वा यूएई नेतृत्वले भने अहिलेसम्म पुष्टि गरेका छैनन्। यसअघि पनि यसै वर्ष नेतन्याहुले यूएईको गोप्य भ्रमण गरेका थिए । उक्त भ्रमणपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानविरुद्धको इजरायली सैन्य अभियानका बिचमा संयुक्त अरब इमिरेट्सको भ्रमण गरी राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरेको बताएको थियो ।

यसअघिको भ्रमणपछि सामाजिक सञ्जालमा इजरायली प्रधानमन्त्रीको कार्यालयको वक्तव्य उद्धृत गरिएको सार्वजनिक पोस्टमा भनिएको थियो, ‘इरानविरुद्धको कारबाहीबीच प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गोप्य रूपमा संयुक्त अरब इमिरेट्सको भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग मध्यपूर्व युद्धका विषयमा छलफल गर्नुभएको छ।’

तर इजरायली प्रधानमन्त्रीको कार्यालयको घोषणालगत्तै यूएईले इजरायली प्रधानमन्त्री वा कुनै इजरायली सैन्य प्रतिनिधिमण्डलको भ्रमणसम्बन्धी रिपोर्टलाई अस्वीकार गरेको थियो ।

यूएईको परराष्ट्र मन्त्रालयले रिपोर्टहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दै भनेको थियो, ‘यूएईले इजरायलसँगको आफ्नो सम्बन्ध सार्वजनिक रहेको र प्रख्यात तथा आधिकारिक रूपमा घोषित अब्राहम सम्झौताको ढाँचाभित्र सञ्चालित रहेको पुनःपुष्टि गर्दछ र यो गैरपारदर्शी वा अनौपचारिक व्यवस्थामा आधारित छैन।त्यसैले, घोषणा नगरिएका भ्रमण वा खुलासा नगरिएका व्यवस्थासम्बन्धी कुनै पनि दाबी यूएईका सम्बन्धित अधिकारीहरूद्वारा आधिकारिक रूपमा घोषणा नगरिएसम्म पूर्ण रूपमा आधारहीन छन्।’

रिपोर्ट गरिएको यो भ्रमण पश्चिम एसियामा जारी तनावका बिच आएको हो । इजरायली प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा इरानको सरकार अन्ततः पतन हुने घोषणा गरेका थिए । उनले इरानको नेतृत्वलाई यसका झुट, भ्रष्टाचार र क्रूरताले ढाल्ने दाबी गरेका थिए।

महासभामा इजरायली प्रधानमन्त्रीले इरानी जनता एक दिन आफ्नो सरकारविरुद्ध उठ्ने भविष्यवाणीसमेत गरेका थिए । सम्बोधनमा उनले भनेका थिए, ‘उनीहरूको हत्यारा शासन यसका झुट, भ्रष्टाचार र क्रूरताले ढालिनेछ। यो दुष्ट शासन पतन हुनेछ।’

अर्कातर्फ इरानका राष्ट्रपति मसुद पेजेस्कियानले यस महिनाको सुरुमा तेहरानलाई संयुक्त अरब एमिरेट्स वा कुनै अन्य क्षेत्रीय देशसँग कुनै समस्या नभएको तर छिमेकी राज्यहरूमा अमेरिकी सैन्य अड्डाहरूको उपस्थितिमा आपत्ति जनाएको बताएका थिए ।

उनले वासिङटनलाई पश्चिम एसिया द्वन्द्वका बिच इरानविरुद्ध आक्रमण गर्न ती अड्डाहरू प्रयोग गरेको आरोप लगाएका थिए ।

केही दिनअघि १८औँ ब्रिक्स शिखर सम्मेलनको सन्दर्भमा नयाँ दिल्लीमा इन्डिया टुडेसँगको विशेष अन्तर्वार्तामा पेजेस्कियानले खाडी राष्ट्रहरूसँगको इरानको सम्बन्ध र संयुक्त राज्य अमेरिकासँगको टकरावबीच भिन्नता देखाउँदै तेहरानले यूएई र क्षेत्रका अन्य देशका नागरिकहरूलाई दाजुभाइ मान्ने बताएका थिए।

पेजेस्कियानले भनेका थिए, ‘हामीलाई यूएईसँग कुनै समस्या छैन। हामीलाई कुनै पनि क्षेत्रीय देशसँग समस्या छैन। हामीलाई यी देशहरूमा रहेका अमेरिकी अड्डाहरूसँग समस्या छ, जहाँबाट उनीहरू हाम्रो देशमाथि आक्रमण गर्दै छन्।’

उक्त अवसरमा राष्ट्रपति पेजेस्कियानले भनेका थिए, ‘अहिले हाम्रो यूएईसँग राम्रो सम्बन्ध छ र हामी यसलाई विस्तार गर्न सक्छौँ र अन्य देशहरूसँग पनि त्यस्तै भएको छ। त्यसैले हामी सबैसँग इमानदार सम्बन्ध राख्न चाहन्छौँ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top