१३ असोज , काठमाण्डौ ।
अमेरिकासँगको तनाव र वार्ताका लागि सर्तसहितका अडानका बीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको सन्देश सार्वजनिक भएको छ । बीबीसी फारसीका अनुसार उनको सन्देशमा ’तेल उद्योगको राष्ट्रियकरण र अमेरिकी विद्रोहसँग सम्बन्धित घटना’ साथै इराकसँगको युद्धको कुरा उल्लेख छ।
सन्देशमा भनिएको छ, ’देश अब यस्तो अवस्थामा पुगेको छ, जहाँ आक्रमणकारीहरू आफैँ इस्लामका योद्धाहरूको आक्रमणबाट बच्न खोजिरहेका छन् र युद्ध त्याग्न बिन्ती गरिरहेका छन्।’ उनले भनेका छन्, ’आज केही मानिस हामीलाई विश्वको चौथो महाशक्ति मान्छन्। यद्यपि न्याय स्थापित गर्ने इरान विश्वको पहिलो शक्ति हो।’

लामो लिखित सन्देशको अर्को भागमा उनले भनेका छन्, ’म इरानका प्रिय जनताको सेवकका रूपमा घोषणा गर्दछु– हाम्रो शत्रु फर्कन चाहेको युग बितिसकेको छ। त्यो युग कहिल्यै फर्कने छैन।’खामेनीले अमेरिका र इजरायललाई चेतावनी दिँदै चाँडै शत्रु सेनालाई अरब सागरबाट धपाइने बताएका छन्।
उनको भनाइपछि इरान–इजरायल युद्धको दायरा अझ विस्तार हुन सक्ने अनुमान गरिएको छ। हालसम्म युद्ध फारसको खाडी र उत्तरी अरब सागरका केही क्षेत्रसम्म सीमित रहेको बताइएको छ। अब अरब सागरमा इरानको सैन्य गतिविधि विस्तार भएमा ओमान, संयुक्त अरब इमिरेट्स, पाकिस्तान र भारतसहित समुद्री क्षेत्रमा रहेका देशहरूमा पनि सुरक्षा चिन्ता बढ्न सक्ने आकलन गरिएको छ।

खामेनीले इरानी सेनाले दक्षिणी इरानका समुद्री क्षेत्र हुँदै शत्रुलाई अरब सागरसम्म पछाडि धकेलेको दाबी गरेका छन्। इरान–इराक युद्ध तथा सन् २०२४ मा इजरायली आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिएको घटनाको वार्षिकीका अवसरमा जारी सन्देशमा उनले होर्मुज जलडमरूमध्यका रक्षकबाट पराजित भएपछि शत्रु अरब सागरभन्दा अगाडि बढ्ने साहस गर्न नसकेको बताएका छन्।
उनले अरब सागरबाट पनि शत्रुको उपस्थिति समाप्त हुने समय नजिकिँदै गएको दाबी गरेका छन्। यसैबीच, इरानको इस्लामिक रिभोलुसन गाड्र्स कप्र्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहब्बीले होर्मुज जलडमरूमध्यमा अमेरिकी मानवरहित पनडुब्बी वाहन नियन्त्रणमा लिएको दाबी गरेका छन्।
इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) का अनुसार मोहब्बीले होर्मुज जलडमरूमध्य अमेरिकी पनडुब्बी वाहनका लागि ‘सिकारगाह’ बनेको दाबी गरेका छन्। उनले होर्मुज जलडमरूमध्य खुला नरहेको र आइतबार राति अर्को अमेरिकी पनडुब्बी वाहन नियन्त्रणमा लिएको दाबीसमेत गरेका छन्।
मोज्तबा खामेनी आफ्ना बुबा अयातुल्लाह अली खामेनीको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छैनन्। सर्वोच्च नेता अहिलेसम्म सार्वजनिक रूपमा नदेखिनुको कारण असुरक्षा भएको दाबी इरानी अधिकारीहरू गर्छन्।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले उनीसँग अहिलेसम्म दुईपटक भेट गरिएको बताएका छन्। उता संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ। अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्र माथि प्रतिबन्ध लगाएको थियो ।
यो दवावपूर्ण अभियान अन्तर्गत इरानले ‘आर्थिक श्वासरोध’ हुने दाबी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए । वासिङ्टनले विदेशी कम्पनीहरूलाई सेप्टेम्बर २३ सम्म यो प्रतिवन्धलाई पालना गर्न समय दिएको थियो । त्यसपछि बेसेन्टले सबै इरानी एयरलाइन्सहरू ‘विश्वभरि बन्द हुने’ दावी गरेका थिए ।
उनले भने ‘यदि उनीहरू अवतरण गर्छन् भने, ‘तपाईंले उनीहरूलाई इन्धन नदिनूहोस्, अवतरण सेवा नदिनूहोस्, टिकट नबेच्नुहोस् । अन्यथा तपाईं डलर प्रणालीबाट बाहिरिनुहुनेछ ।’ अमेरिकी कदमलाई अवैध भन्दै तेहरानले सोमबार संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी दिएको घोषणा गरेको छ।
इरानले भने तेहरानबाट मात्रै करिब ३० अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा जारी राखेको दाबी गरेको छ । ‘ट्र्याकिङ वेबसाइट’ फ्लाइटरडार–२४ का अनुसार आइतबार तेहरान अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ४१ उडान उडे वा अवतरण गरेका थिए ।
प्रतिबन्ध लागू हुनुअघिका दुई दिनको दैनिक औसत ८० देखि ९० उडानको तुलनामा यो कम हो। दुई मुख्य इरानी एयरलाइन्स इरान एयर र निजी स्वामित्वको महान एयर प्रतिवन्धबाट सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । आइतबार तेहरान विमानस्थलबाट उडेका २४ उडानमध्ये केवल पाँच महान एयर र दुई इरान एयरद्वारा सञ्चालित थिए ।
प्रतिबन्धअघि प्रत्येकले करिब १० उडान भर्थे । यी आँकडाले बेसेन्टले भनेको ८० देखि ९० प्रतिशत उडान अवरूद्धता भएको भनेभन्दा बढी सङ्कट देखिन्छ भने तेहरान विमानस्थलले आइतबार ६० उडान सञ्चालन गरेको दाबीभन्दा यो निकै कम हो ।
इरानी राष्ट्रिय टेलिभिजनमा प्रशारित समाचारमा विमानस्थल निर्देशकलाई उद्धृत गर्दै भनिएको छ ‘करिब ३० वा त्योभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यहरूमा अझै सेवा दिइँदै आएको छ ।’ तेहरानको प्रमुख आर्थिक सहयोगी बेइजिङले अमेरिकी प्रतिबन्धलाई ‘अवैध र एकपक्षीय’ भन्दै यसलाई पालना गर्न पूर्ण रूपमा अस्वीकार गरेको छ ।
महान एयरका उडानहरूले चिनियाँ विमानस्थलहरूमा सेवा जारी राखिरहेका छन् । रूस र पाकिस्तानका उडानहरू पनि जारी छन्, यद्यपि कुनै पनि देशले प्रतिबन्धबारे टिप्पणी गरेको छैन । महान एयरलाइन्सका अनुसार महान एयरले टर्कीएका अधिकारीहरूको अनुरोधमा टर्कीका उडानहरू रोकेको छ ।
इरान एयरले भने इस्तानबुलमा दैनिक उडान जारी राखेको छ। साना इरानी ध्वजाबाहकहरूले पनि टर्कीका अन्य शहरहरूमा सेवा दिइरहेका छन्। अर्मेनिया, अफगानिस्तान, बेलारुस र मलेसियामा प्रतिबन्ध अझै लागू भएको छैन । यी देशहरूमा मुख्य रूपमा साना इरानी एयरलाइन्सहरूद्वारा सेवा दिइन्छ ।
वासिङ्टनले प्रतिबन्ध पालना नगर्ने देशहरूविरुद्ध कुनै कारबाही गर्ने कि नगर्ने घोषणा गरेको छैन ।युरोप, एसिया वा अफ्रिका पुग्न चाहने इरानी यात्रुहरूको प्रमुख केन्द्र संयुक्त अरब इमिरेट्सले आफ्नो क्षेत्रमा सबै इरानी उडानहरू ‘थप सूचना नआएसम्म’ का लागि निलम्बन गरेको छ ।
कुवेत नागरिक उड्डयन महानिर्देशनालयका एक स्रोतले सोमबार एएफपीलाई बताए अनुसार सात महिनाअघि युद्ध सुरु भएदेखि नै इरानी एयरलाइन्सहरूलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ । अन्य खाडी देशहरूले कुनै घोषणा गरेका छैनन् तर उनीहरूका विमानस्थल वेबसाइटहरू अनुसार उडानहरू निलम्बन गरिएका देखिन्छन् ।
इरानको आईएसएनए समाचार एजेन्सीले विमानस्थल अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘इरानी उडानहरू अब अजरबैजान र जर्जिया तथा इराकमा जाने छैनन् । इराक भने प्रतिबन्धबाट छुट खोजिरहेको छ ।’
इराकी सरकारले शनिबार संयुक्त राज्य अमेरिकासँग इरानी एयरलाइन्सहरूमाथिको प्रतिबन्धबाट छुट पाउन वार्ता गरिरहेको बताएको छ। यसले बिरामी, विद्यार्थी र तीर्थयात्रीहरूको यात्रा प्रभावित पारेको इराकको दावी छ ।
‘इराकी सरकारले यी उपायहरूबाट केही इराकी विमानस्थलहरूलाई छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको छ,’ इराकी प्रधानमन्त्रीको मिडिया कार्यालयले भनेको छ । ‘छुटले ‘चिकित्सा उपचार, शिक्षा, धार्मिक भ्रमण र नागरिकहरूको हित समावेश मानवीय कारण’ का लागि उडानहरू पुनः सुरु गर्न अनुमति दिनेछ,’ कार्यालयले थप्यो ।
इरानी एयरलाइन्सहरूले मुख्य रूपमा इराकी शिया तीर्थयात्रीहरूलाई इरानका पवित्र शहरहरूमा लैजान्छन् वा इराकका पवित्र स्थलहरूमा जाने इरानीहरूलाई सेवा दिन्छन् । यी उडानहरू इरानमा पढ्ने इराकी विद्यार्थी र त्यहाँ चिकित्सा उपचार खोज्ने बिरामीहरूलाई पनि सेवा दिन्छन् ।



