देउवालाई निम्तो गर्न गएको टोली रित्तो हात फर्कियो,गगन नै सभापति दोहोरिदै

१८ असोज ८३, आइतबार
Share this
809shares

१८ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको नेपाली कांग्रेसले जनाएको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।

Advertisement

महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो गरेका छन् । सभापति थापाले सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा देउवालाई निम्तो दिन निवासमै पठाएका थिए ।

निवासमै पुग्दा समेत देउवासँग आफूहरूको भेट हुन नसकेको सहमहामन्त्री चौधरीले बताए । देउवाका स्वकीय सचिव भानु देउवासँग समेत सम्पर्क हुन नसकेपछि देउवासम्म पुग्न नसकेको बताए । आफूहरूले सभापति थापाको हस्ताक्षर भएको निमन्त्रणा पत्र निवासमा छाडेर फर्किएको बताए ।

Advertisement

महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै प्रतिपक्षमा रहेका नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायतका दलहरूलाई आमन्त्रण गरेको छ । यस्तै, छिमेकी मुलुकहरू भारत–चीनसँगै अमेरिकालगायतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको छ ।

तर, उद्घाटन समारोहको तिथि–मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति न्यून रहने सम्भावना रहेको कांग्रेसले जनाएको छ । दलहरुका तर्फबाट भने शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।

महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने प्रवक्ता चालिसेले बताए । जसलाई नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो संख्या भनिएको छ । खुल्लामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रुपमा परिणत गर्ने प्रयत्न गरिने बताएका छन् ।

यस्तै प्रवक्ता चालिसेले आज उद्घाटनसत्रपछि सुरु हुने बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने बताएका छन् । सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने उनले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।

महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल ‘बुकिङ’ गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समिति सदस्य रहेका नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौंका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको बताएका छन् ।

उनका अनुसार कोशी र मधेश प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।

यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ ।

विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले बेहोर्ने बताएको छ । प्रवक्ता चालिसेका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा दिन कांग्रेसले महाधिवेशन स्थलमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरेको छ । महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुलामञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ ।

महाधिवेशन स्थलमा ब्लड प्रेसर, सुगर, सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निःशुल्क प्रदान गरिने केसीले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

चालिसेका अनुशार कांग्रेसको यस महाधिवेशनबाट पैँतीस वर्ष मुनिका युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीसमेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन् । यो महाधिवेशनमा देउवा पक्ष सहभागी छैन ।

महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने भए पनि अहिलेसम्म १२ जना नेता महामन्त्रीको आकांक्षामा देखिएका छन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पनि १५औँ महाधिवेशनबाट पुनः महामन्त्रीमा दोहोरिन चाहेका छन्।

त्यस्तै, सहमहामन्त्रीहरू उदयशमशेर राणा, डिला संग्रौला र प्रकाश रसाइली ‘स्नेही’ पनि महामन्त्री पदका आकांक्षी छन्। निवर्तमान सहमहामन्त्री जीवन परियार र पार्टी प्रवक्ता देवराज चालिसेले पनि महामन्त्रीको आकांक्षी हुन्।

केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, नैनसिंह महर, मधु आचार्य , आङ्गेलु शेर्पा, डा सुनिल शर्मा तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर पनि महामन्त्री पदका आकांक्षी छन्। सहमति हुन नसके महामन्त्री पदमा निर्वाचन हुनेछ।

सभापतिमा भने गगन थापा दोहोरिने लगभग निश्चित रहेको बताइन्छ । कांग्रेसको १५ औं महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top