फ्लाई दुबईका पाइलटको आतंकवादीसँग कनेक्सन,हमाम अल–हमामीको हुन् ?

१८ असोज ८३, आइतबार
Share this
744shares

१८ असोज , काठमाण्डौ ।

Advertisement

यूएईको दुबईबाट चार दिन अघि गत सेप्टेम्बर ३०मा इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईका पाइलटलाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका को–पाइलट आतंकवादीबाट परिचालित भएको खुलेको छ।

त्यस दिन पाइलट भारतीय नागरिक स्मित मच्छरलाई रक्ताम्मे बनाउने को–पाइलट ओमानी नागरिक हमाम अल–हमामी भएको र उनको सम्बन्ध आतंकवादीसँग रहेको खुलासा भएको छ । सीएनएनले स्रोतलाई उधृत गर्दै उल्लेख गरेअनुसार ती सहपाइलट ओमानका नागरिक हमाम अल–हमामी हुन्।

Advertisement

साउदी सरकारी सञ्चारमाध्यमले पनि उनको पहिचान यही भनेको छ। उनी संयुक्त अरब इमिरेट्स (यूएई) मा ओमानी बुबा र सिरियाली आमाका सन्तानका रूपमा जन्मिएका थिए। उनले जीवनका केही वर्ष यूएईमै बिताएका थिए।

हमाम अल–हमामीको नाममा रहेको लिंक्डइन प्रोफाइलमा उल्लेख भएअनुसार उनले ओमान एयरमा सात वर्ष काम गरे र फेब्रुअरी २०२५ मा त्यहाँबाट बाहिरिए; त्यसपछि जुन २०२५ मा रोयल एयर मारोकमा आबद्ध भए तर जनवरी २०२६ मा त्यहाँबाट पनि बाहिरिए।

Advertisement

उक्त पेजमा फ्लाई दुबईको भने कुनै कुरा उल्लेख छैन। सीएनएनले लेखेको छ, ’एक स्रोतले उक्त प्रोफाइल बुधबारको घटनामा संलग्न फ्लाई दुबईका सहपाइलटकै भएको पुष्टि गरेको छ। यद्यपि त्यसयता उक्त प्रोफाइल हटाइसकिएको छ।’

त्यस क्षेत्रका एक कूटनीतिज्ञ रहेका दोस्रो स्रोतले सीएनएनलाई बताएअनुसार ती व्यक्तिलाई उनको अतिवादी (कट्टरपन्थी) सोचका कारण उडान तालिमबाट हटाइएको थियो र ओमानको राष्ट्रिय एयरलाइन्समा अर्को जिम्मेवारी दिइएको थियो।

एबीसी न्युजले पनि अधिकारीहरूलाई उधृत गर्दै २०२४ मा ओमान एयरका लागि सहपाइलट प्रशिक्षार्थीका रूपमा काम गर्दा हमाम अल–हमामीसँग अतिवादी सामग्री फेला परेको उल्लेख गरेको छ। तर पनि उनलाई एयरलाइन्समा प्रशासनिक भूमिकामा काम गर्न अनुमति दिइएको स्रोतले बताएको छ।

इजरायली अधिकारीले सीएनएनलाई बताएअनुसार अल–हमामीले ’फ्लाई दुबई’मा काम गरेको जम्मा आठ महिना मात्र भएको छ। अर्का एक स्रोतका अनुसार ती आक्रमणकारीले यसअघि ’रोयल एयर मारोक’मा काम गरेका थिए। यद्यपि फ्लाई दुबई स्वयंले भने ती सहपाइलटका विषयमा अहिलेसम्म केही बताएको छैन।

गत बुधबार चालक दलबाहेक १७२ यात्रु लिएर यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानका को–पाइलटले पाइलट स्मित मच्छरलाई चक्कुले हानेपछि विमान साउदी अरबमा लगेर अवतरण गराइएको थियो।

घाइते स्मितलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारपछि उनी शुक्रबार यूएई फर्किसकेका छन्। यात्रुसमेतको सहयोगमा पाइलट स्मितले विमानलाई दुर्घटनाबाट बचाएका थिए। अहिले उनको विश्वभर प्रशंसा भइरहेको छ।

यसैबिच शुक्रबार फ्लाई दुबईका क्याप्टेन स्मितले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यस दिनको त्रासदी सुनाएका छन्। स्मितले मोदीसँग फोनमा भनेका छन्, ‘मलाई लाग्यो– यदि मैले उठेर कदम चालिनँ भने अवस्था झन् खराब हुनेछ। म १७ वर्षदेखि उडान गरिरहेको छु र पछिल्लो ११ वर्षदेखि क्याप्टेन छु। आँखा बन्द गर्दा पनि म विमानभित्र के भइरहेको छ भनेर देख्न सक्छु। जब म लडेँ, तब मलाई महसुस भइरहेको थियो– परिस्थिति झन् खराब हुँदै गइरहेको छ।’ क्याप्टेन स्मितका अनुसार अन्तिमसम्म प्रयास गरेर जब उनले ककपिटको ढोका खोले तब अरूले भित्र पस्न पाए। यस प्रयासमा अरूले पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। उनले भने, ‘म आफ्नो ज्यान बचाउन सक्दो प्रयास गरिरहेको थिएँ, तर योसँगै मलाई लाग्यो– ती मानिसहरूलाई पनि मर्न दिन हुँदैन।’

सुरुमा पाइलटलाई चक्कुले आक्रमण गरेको भनिए पनि शनिबार यूएई सरकारले भने खासमा को–पाइलट हमामीले आपत्कालीन अवस्थाका लागि विमानको ककपिटभित्रै राखिने ‘क्र्यास एक्स’ अर्थात् बन्चरो प्रयोग गरेको बताएको छ। यद्यपि घटनाको वास्तविकता र उद्देश्य पत्ता लगाउन अनुसन्धान जारी रहेको यूएईका महान्यायाधिवक्ताले बताएका छन्।

अल अरेबिया इङ्लिसका अनुसार अल–हमामीले ओमान बाहिर धेरै समय बिताए। यस क्रममा उनी सिरियामा पनि लामो समय बसेका थिए। यही बेला उनी कट्टरपन्थी विचारबाट प्रभावित भए। अनुसन्धानबाट उनले धार्मिक व्यक्तिरूसँगको भेटघाट गरेको कुरा खुलासा भएको छ।

एजेन्सीहरूले उनी कसरी कट्टरपन्थी विचारबाट प्रभावित भए भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। रिपोर्टअनुसार अल–हमामीको साथमा ‘फ्रि प्यालेस्टाइन’ पोस्टर र अन्य प्यालेस्टाइन समर्थक वस्तु फेला परेका थिए। सोधपुछका क्रममा उनले फ्लाई दुबईको विमान इजरायलमा दुर्घटना गराउन चाहेको स्वीकार गरेका छन्।

यूएईका सरकारी अभियोजक हमद सैफ अल–शम्सीका अनुसार सहपाइलटले ककपिटभित्र क्याप्टेनमाथि ‘क्र्यास एक्स’ अर्थात् आपत्कालीन अवस्थामा प्रयोग गरिने बन्चरोले आक्रमण गर्दै विमान नियन्त्रणमा लिन खोजेका थिए। अमेरिकाको विदेश विभागका अनुसार चार यात्रु अमेरिकी नागरिक थिए।

ओमान र इजरायलबिच कूटनीतिक सम्बन्ध छैन। त्यसैले अनुसन्धानमा एउटा प्रमुख प्रश्न बनेको छ– ओमानी नागरकि अल–हमामीलाई तेल अभिभ जाने फ्लाईदुबईको विमानमा कसरी सह–पाइलटको जिम्मेवारी दिइयो? सीएनएनका अनुसार इजरायलको सिन बेट, मोसाद, सेना र यातायात मन्त्रालयलगायत धेरैवटा एजेन्सीले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

विवादित पृष्ठभूमि हुँदाहुँदै पनि अल–हमामी कसरी फ्लाई दुबईमा चालक दलको सदस्य बने भनेर पत्ता लगाउने प्रयास भइरहेको छ। अल–हमामीलाई बिहीबार साउदी अरबबाट यूएई लगिएको छ। जहाँ उनीविरुद्ध आतंकवादसँग सम्बन्धित अपराधमा अनुसन्धान भइरहेको बताइएको छ।

‘टाइम्स अफ इजरायल’का अनुसार, यो घटना बुधबार बिहान करिब ९ बजे भएको हो । विमान केही समयमै करिब १७ हजार फिट तल झरेपछि अपहरणको चेतावनी संकेत पठाइएको थियो । विमानले सुरुमा ‘७७००’ आपत्कालीन कोड र त्यसको केही सेकेन्डपछि ‘७५००’ अपहरण संकेत पठाएको थियो ।

‘फ्लाइटरडार’का अनुसार, विमान करिब दुई मिनेटमा ३४ हजार फिटबाट १६ हजार ६०० फिटको उचाइमा झरेको थियो । घटनालगतै इजरायलले लडाकु विमान परिचालन गरेको थियो । ती लडाकु विमानको निगरानीमा फ्लाई दुबईको उक्त उडानलाई साउदी अरेबियाको ताबुक विमानस्थलतर्फ मोडेर आपत्कालीन अवतरण गराइयो ।

विमानमा १५० जना इजरायली नागरिक सवार थिए । यूएईका अनुसार घटनाको उद्देश्य र अन्य पक्षबारे अनुसन्धान जारी छ। अनुसन्धान पूरा भएपछि विस्तृत निष्कर्ष सार्वजनिक गरिने जनाइएको छ।उता फ्लाई दुबईको एफजेड–१०७३ उडानमा भएको गम्भीर घटनापछि इजरायलमा विदेशी पाइलटको सुरक्षा जाँचबारे प्रश्न उठ्न थालेका छन्।

इजरायलको यातायात मन्त्रालयले इजरायल आउने विदेशी विमानका पाइलटको पृष्ठभूमि जाँच आफूहरूले नगर्ने स्पष्ट पारेको छ। मन्त्रालयले विदेशी विमानको उडानलाई ‘शतप्रतिशत’ सुरक्षित हुने सुनिश्चिततासमेत गर्न नसक्ने जनाएको छ।

शनिबार राति पत्रकारहरूलाई गरिएको ब्रिफिङमा मन्त्रालयको सुरक्षा विभागले विदेशी विमानका पाइलट तथा चालक दलका सदस्यको नाम आफूहरूले अग्रिम रूपमा प्राप्त नगर्ने र विदेशबाट आउने पाइलटको पृष्ठभूमि जाँच गर्ने क्षमता पनि नरहेको बताएको हो।

इजरायली सञ्चारमाध्यमका अनुसार सुरक्षा विभागका एक प्रतिनिधिले आफूहरू विदेशी नागरिकको गुप्तचर पृष्ठभूमि जाँच गर्ने निकाय नभएको बताएका छन्। विदेशमा आफ्ना कर्मचारी वा त्यहाँ रहेका प्रत्येक व्यक्तिको जाँच गर्ने संयन्त्र नभएको उनको भनाइ छ।

विभागले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकका कति पाइलट इजरायलमा अवतरण गरिसकेका छन् भन्ने तथ्याङ्कसमेत दिन नसक्ने जनाएको छ। विदेशी विमान कम्पनीका पाइलटको पृष्ठभूमि जाँचको जिम्मेवारी सम्बन्धित एयरलाइन्सलाई नै दिइएको मन्त्रालयले जनाएको छ।

यातायातमन्त्री मिरी रेगेभले भने हवाई यात्राको सुरक्षा र जोखिमको स्तर निर्धारण गर्ने जिम्मेवारी इजरायलको सुरक्षा निकायको भएको बताएकी छन्। उनले कुनै गन्तव्यमा हवाई यात्रा गर्न सुरक्षित छ वा छैन भन्ने निर्णय सुरक्षा अधिकारीहरूले गर्ने बताएको टाइम्स अफ इजरायलले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top