गोप्य सूचना चुहाउनेलाई गृहमन्त्रीले कठघरामा ल्याइछाड्ने

२० असोज ८३, मंगलबार
Share this
735shares

२० असोज , काठमाण्डौ ।

Advertisement

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनाधिकृत रूपमा गोप्य तथा संवेदनशील सूचना चुहाउने जो–कोहीलाई कानूनी दायरामा ल्याउने कडा चेतावनी दिएका छन् । पदीय हैसियत भुलेर अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उनको भनाइ छ ।

राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएर सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै गुरुङ भनेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन ।’ गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो ।

Advertisement

त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेका हुन् । मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले स्पष्ट पारेका छन् ।

यस्ता सूचनाको संवेदनशीलतालाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ छ । राज्यले सुम्पिएको गोपनीयतामाथि खेलबाड गर्नुलाई देश र सङ्गठनमाथिको ‘विश्वासघात’ को संज्ञा दिँदै उनले चेतावनी दिएका छन्, ‘जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ ।’

Advertisement

सोमबार दिउँसो संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेका छन् ।

खासमा उनको पद निलम्बन गर्नुका दुई कारण खुलेका छन् । पहिलो, पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको ‘कनेक्सन’ । एआईजी दाहाल असोज ११ गते राति नै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए ।

जहाँ पूर्व प्रधानन्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएर प्रहरीले केही समय अघि मात्रै पु¥याएको थियो । जबरालाई चौकी लगेको केही समयमै उनी टेकु पुगेको देखिन्छ । सोहीकारण पदीय आचरणलाई ध्यानमै नराखि रातारात प्रहरी कार्यालय पुगेपछि उनीमाथि थप अनुसन्धान थालिएको बुझिएको हो ।

सो क्रममा उनले कसैलाई जानकारी नै नदिइ ‘चेन अफ कमाण्ड’ समेत मिचेका थिए । एआईजी वंशीराज टेकु पुग्नुको कारण खोज्दै जाँदा दोस्रो कारण खुलेको हो । त्यो हो– झापाका इनम सापकोटा नाम गरेका व्यक्तिसँगको पनि उनको ‘कनेक्सन’ ।

प्रहरीको विशेष ब्युरोले गरेको अनुसन्धानका क्रममा इनम सापकोटासँग एआईजी दाहाल सम्पर्कमा रहेको देखिन्छ । जसलाई प्रहरीको अनुसन्धानले शंकास्पद रुपमा हेरेको थियो । उनै इनममार्फत एआईजी दाहालले पूर्व प्रधानन्यायाधीश जबरालाई संवेदनशील सूचना ‘सेयर’ गरेको देखिएको हो ।

त्यस्तै, अनुसन्धानपछि इनमलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर एक दिनमा छाडेको थियो । इनमको मोबाइलबाट वंशीराजले सबै कुरा ‘सेयर’ गर्ने गरेको देखिएको अनुसन्धान अधिकारीहरुको भनाइ छ ।

यता सोमबार बसेको गृह मन्त्रालयको बैठकले यसबारे जाँचबुझ अधिकृत तोकेर छानबिन अघि बढाउने निर्णय पनि गरेको छ । तीन दिनभित्र जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृतलाई कार्यादेश तोकिएको छ ।

तयार पारिने प्रतिवेदनमा जबरा, दाहाल र सापकोटाबीचको कनेक्सनबारे यिनै तथ्य राख्ने तयारी सरकारको छ । सशस्त्र प्रहरीकै मानव स्रोत विभागमा कार्यरत अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको हो ।

एआईजी दाहालमाथि अनुसन्धान गर्ने जिम्मेवारी पाएका एआईजी पोखरेल झण्डै चार वर्ष जुनियर हुन्। पोखरेललाई एआईजी हुँदा आईजीपी नारायणदत्त पौडेलसँगै दाहालले पनि दज्र्यानी चिन्ह लगाइदिएका थिए । अब आफैँलाई दज्र्यानी चिन्ह लगाइदिएका दाहालमाथि पोखरेलले जाँचबुझ गरेर सरकारलाई प्रतिवेदन बुझाउने जिम्मा पाएका छन् ।

सशस्त्र प्रहरी बलले गरेको सिफारिसका आधारमा निलम्बन गरेर जाँचबुझ अगाडि बढाउने निर्णय भएको गृह मन्त्रालयको दाबी छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल एआईजी दाहालकै ब्याची हुन् ।

दाहालमाथि छानबिन गर्ने निर्णयबारे जानकारी दिँदै गृहले भनेको छ, ‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचारण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचारण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति २०८३–६–१९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

यता गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा मातहतका कर्मचारीलाई पदीय आचरण विपरीतका कार्य नगर्न सचेत गराइएको छ । ‘हरेक कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पदीय आचरण विपरीतका कार्य गर्ने कर्मचारीलाई कारबाही गरिने पनि गृहले चेतावनी दिएको छ । ‘कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ,’ गृहले भनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top