२६ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहीवार दुई खेल हुँदैछन् । भाइटीकाका अवसरमा बुधवार प्रतियोगिताका खेलहरू स्थगित गरिएपछि आज पुनः प्रतिस्पर्धा प्रारम्भ हुन लागेको हो । आज हुने दुवै खेलले अंकतालिकामा टोलीहरूको स्थान सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स आमने–सामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे प्रारम्भ हुने उक्त खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिनेछन् । प्रतियोगितामा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको पोखरा एभेन्जर्सका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ ।

पाँच खेल खेलिसकेको पोखराले हालसम्म एक खेलमा मात्र जित निकाल्दै दुई अंक जोडेको छ । अंकतालिकाको पुछारमा रहेको पोखरा आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा हुनेछ । यता विराटनगर किङ्स पनि आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ । पाँच खेलबाट चार अंक जोडेको विराटनगर हाल अंकतालिकाको छैटौँ स्थानमा छ ।
पोखराविरुद्ध जित निकाल्न सके विराटनगरलाई अंकतालिकामा माथि उक्लिने अवसर प्राप्त हुनेछ । त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल साँझ ५ बजे प्रारम्भ हुनेछ ।
लुम्बिनी लायन्स प्रतियोगितामा राम्रो लयमा देखिएको टोली हो । पाँच खेल खेलेको लुम्बिनीले तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सात अंक जोडेको छ । एक खेल वर्षाका कारण नतिजाविहीन भएको अवस्थासहित लुम्बिनी अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
आज कर्णालीलाई पराजित गर्न सके लुम्बिनीले शीर्ष दुईमा पुग्ने सम्भावनालाई थप बलियो बनाउन सक्छ । अर्कोतर्फ कर्णाली याक्सका लागि पनि आजको खेल उत्तिकै महत्वपूर्ण छ । पाँच खेलबाट चार अंक जोडेको कर्णाली हाल अंकतालिकाको सातौँ स्थानमा छ । प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई बाँकी खेलमा जित निकाल्नु आवश्यक छ ।
त्यसैले लुम्बिनीविरुद्धको खेलमा कर्णाली दवाव र चुनौती दुवैका बीच मैदानमा उत्रिने छ । एनपीएलमा हालसम्मका खेलको नतिजाअनुसार काठमाडौं गोर्खाज आठ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । पाँच खेल खेलेको काठमाडौंले चार खेलमा जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
त्यस्तै, छ खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ । समान पाँच खेल खेलेको लुम्बिनी लायन्स सात अंकसहित तेस्रो स्थानमा रहँदा चितवन राइनोज पाँच अंकसहित चौथो स्थानमा छ । जनकपुर बोल्ट्स छ खेलबाट चार अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ ।
त्यस्तै, विराटनगर किङ्स पाँच खेलबाट चार अंकसहित छैटौँ र कर्णाली याक्स पनि पाँच खेलबाट चार अंक जोड्दै सातौँ स्थानमा छन् । पाँच खेल खेलिसकेको पोखरा एभेन्जर्स भने दुई अंकसहित अंकतालिकाको अन्तिम अर्थात् आठौँ स्थानमा रहेको छ ।प्रतियोगिता अघि बढ्दै जाँदा प्लेअफ प्रवेशका लागि टोलीहरूबीच प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।
आज हुने दुई खेलको नतिजाले पनि अंकतालिकाको समीकरणमा परिवर्तन ल्याउन सक्नेछ । विशेषगरी लुम्बिनी, विराटनगर र कर्णालीका लागि आजका खेल प्लेअफ यात्रालाई सहज बनाउने महत्वपूर्ण अवसरका रूपमा रहनेछन् ।
यसैबीच, एनपीएलका लिग चरणका खेल अन्तिमतिर पुग्दा लोकेश बमले सबैभन्दा बढी १९४ रन बनाएका छन्। विराटनगर किंग्सबाट खेलिरहेका बमले पाँच खेलमा दुई अर्धशतकको मद्दतले १९४ रन बनाएका हुन्।
उनको उच्चतम स्कोर ८७ रन रहेको छ। एनपीएलको तेस्रो संस्करणमा १५३.९५ स्ट्राइक रेट रहेका बमले अहिलेसम्म १२ चौका र १६ छक्का प्रहार गरेका छन्। उनलाई चितवन राइनोजका रवि बोपाराले पछ्याइरहेका छन्। बोपाराले चार खेलमा १७१ रन बनाएका छन्। यसमा उनको एक अर्धशतक रहेको छ।
१३२.५५ स्ट्राइक रेट रहेका बोपाराले अहिलेसम्म नौ चौका र आठ छक्का प्रहार गरेका छन्। तेस्रो नम्बरमा एन्ड्रे रसेल रहेका छन्। विराटनगर किंग्सबाट खेलिरहेका रसेलले पाँच खेलमा १४४ रन बनाएका छन्। यसमा उनको एक अर्धशतक छ। एनपीएलमा १८९.४७ स्ट्राइक रेट रहेका रसेलले अहिलेसम्म आठ चौका र १४ छक्का प्रहार गरेका छन्।
उनको उच्च स्कोर ५२ रन रहेको छ। चौथो नम्बरमा रहेका कर्णाली याक्सका अरिफुल इस्लाम छन्। उनले पाँच खेलमा १८३.३३ को स्ट्राइक रेटले १४३ रन बनाएका छन्। उनको उच्च स्कोर ४४ रन रहेको छ भने अहिलेसम्म दश चौका र १२ छक्का प्रहार गरेका छन्। त्यस्तै, जनकपुर बोल्ट्सका सैफ हसन पाँचौं नम्बरमा छन्।
उनले चार खेलमा ११५.७० को स्ट्राइक रेटले १४० रन बनाएका छन्। उनले एनपीएलमा एक अर्धशतक प्रहार गरेका छन्। उच्च स्कोर ७१ रन रहेका हसनले अहिलेसम्म सात चौका र आठ छक्का प्रहार गरेका छन्। छैटौं नम्बरमा रहेका पवन सर्राफले पनि १४० रन बनाएका छन्।
कर्णाली याक्सबाट पाँच खेलमा १०५.२६ को स्ट्राइक रेट रहेका सर्राफले अहिलेसम्म दुई चौका र १० छक्का प्रहार गरेका छन्। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेले सातौं नम्बरमा छन्। उनले पाँच खेलमा १३२.०३ को स्ट्राइक रेटले १३६ रन बनाएका छन्। यसमा उनको एक अर्धशतक पनि छ। उनले अहिलेसम्म नौ चौका र सात छक्का प्रहार गरेका छन्।
आठौं नम्बरमा रहेका काठमाडौं गोर्खाजका डेविड वार्नरले चार खेलमा १२७ रन बनाएका छन्। यसमा उनको एक अर्धशतक पनि छ। १४१.११ स्ट्राइक रेटले रन बनाएका वार्नरले अहिलेसम्म १४ चौका र चार छक्का प्रहार गरेका छन्। सुदूरपश्चिम रोयल्सका ब्रेन्डन म्याकमुलेन नवौं नम्बरमा छन्।
उनले १६७.५६ को स्ट्राइक रेटले पाँच खेलमा १२४ रन बनाएका छन्। उनले अहिलेसम्म १२ चौका र ६ छक्का प्रहार गरेका छन्। एनपीएलको तेस्रो संस्करणमा शतक प्रहार गर्ने एक्ला खेलाडी युवराज शर्मा दशौं नम्बरमा छन्। पोखरा एभेन्जर्सका शर्माले दुई खेलमा एक शतकको मद्दतले १२१ रन बनाएका छन्।
उनको उच्च स्कोर १०२ रन रहेको छ। १९५.१६ को स्ट्राइक रेट रहेका शर्माले अहिलेसम्म १४ चौका र ६ छक्का प्रहार गरेका छन्। त्यस्तै, सयभन्दा बढी रन बनाउने ६ खेलाडी छन्। काठमाडौंका रशिद खानले १२०, चितवनका डेविड मलानले ११४, जनकपुरका तृतराज दासले ११२, जनकपुरकै मोइन अलीले १०८, कर्णालीका डेविड मिलर र विराटनगरका इम्रान शेखको सय–सय रन बनाएका छन्।
यता अहिलेसम्म सबैभन्दा विकेट हरमित सिंहले लिएका छन्। जनकपुर बोल्ट्सबाट खेलिरहेका सिंहले ६ खेलमा ११ विकेट लिएका छन्। यसका लागि उनले १३७ रन खर्चिएका छन्। उनको इकोनमी ५.८२ रहेको छ। उनलाई चितवन राइनोजका रिजन ढकालले पछ्याइरहेका छन्। ढकालले चार खेलमा १० विकेट लिएका छन्। उनको इकोनमी ६.७५ रहेको छ।
त्यसपछि तीन खेलाडीले समान नौ विकेट लिएका छन्। चितवन राइनोजका कमलसिंह ऐरीले चार खेलमा नौ विकेट लिएका छन्। उनको इकोनमी ५.८० रहेको छ। नौ विकेट लिने अर्को खेलाडी जनकपुर बोल्ट्सका राहुल यादव हुन्। उनले ६ खेलमा ६.९५ को इकोनमी राख्दै नौ विकेट लिएका हुन्। तेस्रो खेलाडीमा कर्णाली याक्सका सोमपाल कामी छन्।
उनले पाँच खेलमा ८.८२ को इकोनामी राख्दै नौ विकेट लिएका हुन्। त्यसपछि चार खेलाडीले समान आठ विकेट लिएका छन्। लुम्बिनी लायन्सका शेर मल्ल, सुदूरपश्चिममा अनिल खरेल, काठमाडौं गोर्खाजका जहानदाद खान र सुदूरपश्चिमका स्कट कुगेलजिन छन्।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दशौं नम्बर जनकपुरका मोइन अली छन्। उनले चार खेलमा सात विकेट लिएका छन्। उनको इकोनमी ४.८५ रहेको छ। एनपीएलमा लिग चरणका अब सात खेल मात्रै बाँकी छन्। अहिलेसम्म २१ खेल भइसकेका छन्।



