२६ कार्तिक , काठमाण्डौ ।
माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको मौसममा फेरबदल देखिएको छ। पछिल्ला दिनमा देशका विभिन्न स्थानमा बदली, हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

मौसममा देखिएको यो परिवर्तन माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभावका कारण भएको हो। मनसुन बाहिरिएपछि पनि पश्चिमबाट आउने मौसमी प्रणालीले नेपालमा वर्षा गराउन सक्ने भएकाले मौसम पूर्ण रूपमा सुख्खा नहुने मौसमविद्हरू बताउँछन्।
विभागका अनुसार आज पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसममा हुने फेरबदलले चिसो बढाउन सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ। यद्यपि वर्षाको सम्भावना देशभर समान नरहेको र स्थानअनुसार मौसम फरक हुन सक्ने देखिएको छ। नेपालमा सबैभन्दा धेरै वर्षा असारदेखि असोजसम्म हुने गर्छ।
बंगालको खाडीबाट आउने जलवाष्पयुक्त मनसुनी हावाले देशका अधिकांश भूभागमा वर्षा गराउँछ। असोजसँगै मनसुन कमजोर हुँदै बाहिरिएपछि सामान्यतया नेपालमा सुख्खा मौसम सुरु हुन्छ। यस वर्षको मनसुन अक्टोबर १४ मा नेपालबाट पूर्ण रूपमा बाहिरिएको थियो।
त्यसपछि पनि पश्चिमी वायु र अन्य मौसमी प्रणाली सक्रिय हुँदा विभिन्न स्थानमा बादल लाग्ने, हल्का वर्षा हुने तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहन्छ। पश्चिमी वायु पश्चिमबाट नेपाल प्रवेश गर्ने मौसमी प्रणाली हो। यसले आफ्नो साथमा पर्याप्त चिस्यानयुक्त हावा ल्याउँदा वायुमण्डलमा बादल निर्माण हुन्छ।
हावामा रहेको चिस्यान चिसिएर संघनित भएपछि अनुकूल मौसमी अवस्था बनेमा वर्षा हुने गर्छ। हिमाली क्षेत्रमा तापक्रम कम हुने भएकाले यही प्रणालीका कारण हिमपातसमेत हुन सक्छ। यसका साथै स्थानीय तापक्रम, भूगोल र भौगोलिक बनावटले पनि वर्षा तथा बादल निर्माणमा प्रभाव पार्छन्।
पहाडी क्षेत्रमा भू–बनावटका कारण एउटै समयमा एक स्थानमा वर्षा हुँदा नजिकैको अर्को स्थानमा घाम लागिरहेको हुन सक्छ। सामान्यतया तिहारको समयमा नेपालमा सफा आकाश, पारिलो घाम र बिहान–बेलुका हल्का चिसो मौसम हुने गर्छ। वर्षायाम सकिएर मनसुन बाहिरिसकेको हुने भएकाले कात्तिक महिनामा वर्षा तुलनात्मक रूपमा कम हुन्छ।
नेपालको मौसमसम्बन्धी वैज्ञानिक अध्ययनहरूले अक्टोबर र नोभेम्बरलाई मनसुनपछिको अवधि मानेका छन्। सन् २०१७ मा प्रकाशित एक अध्ययनले पनि यस अवधिमा सामान्यतया आकाश सफा रहने र वर्षा कम हुने देखाएको छ। विशेषगरी नोभेम्बर नेपालमा कम वर्षा हुने महिनामध्ये एक हो।तर वर्षा कम हुनु र वर्षा हुँदै नहुनु फरक विषय हुन्।
मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु, न्यूनचापीय प्रणाली तथा स्थानीय मौसमी अवस्थाका कारण हल्का वर्षा हुन सक्छ। त्यसैले तिहार वा भाइटीकाका दिन पानी पर्नुलाई पूर्ण रूपमा असामान्य मान्न सकिँदैन। हिजो काठमाडौंमा भाइटीकाकै दिन वर्षासँगै असिना परेको थियो ।
दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन आई वर्षा सुरु भएको थियो । उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला, चाबहिल लगायतका स्थानमा असिनासहितको वर्षा भएको हो । वर्षाका कारण भाइटीकाको दिन आवतजावत गर्ने सर्वसाधारण तथा दिदीबहिनी र दाजुभाइहरू प्रभावित भएका थिए।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सोही मौसमी प्रणालीका कारण काठमाडौँसहित पहाडी भूभागमा बदली र वर्षा भएको हो । हिजो बाक्लो असिनासहित वर्षा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) समेत बन्द गरिएको थियो ।
धावनमार्गमा जमेको असिना सफा गरेपछि अपरान्ह पछि सञ्चालनमा आएको थियो । दिउँसो २ बजेदेखि असिनासहित वर्षा हुन थालेपछि धावनमार्ग र ट्याक्सी वे क्षेत्रमा बाक्लो असिना जमेको थियो । असिना जमेर धावनमार्ग चिप्लो भएपछि विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको थियो ।
उता संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुईजना घाइते भएका छन् । बुधबार साँझ करिब ६ः३० बजे वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सविन गुरुङ घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार, चट्याङ लागेर गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । त्यस्तै, सविनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा, खाँदबारी ल्याइएको छ । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



