नयाँदिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ ।
नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।,आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।
२१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् । प्रहरीले नेपाली एजेन्टले नै ती महिलालाई बन्धक बनाएको दाबी गरेको छ ।
मानव तस्करीको आरोपमा केही नेपाली एजेन्टलाई समेत पक्राउ गरिएको छ । घटना पछाडि मानव तस्करी गिरोहको मुख्य नाइके दिल्लीमै रहेको आशंकासमेत प्रहरीले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।