५ मंसिर , काठमाण्डौ ।
हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भाग, उपत्यका तथा खोँचका केही स्थानमा विहान हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । यस्तै, कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । त्यसैगरी, कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
उता नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कुरिनटारनजिकै घोप्टेभीरमा लगातार भइरहेको पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरेर मर्मतको काम गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय भएको जनाएको छ।
घोप्टेभीरमा लगातार पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। सडक बन्द रहने अवधिमा पहिरोको जोखिम रहेका ढुङ्गामाटो हटाउने काम गरिनेछ।
सो समयमा उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रशासनले यात्रु तथा सवारी चालकलाई निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।
अर्काेतर्फ भारतमा बङ्गालको खाडीबाट उत्पन्न चक्रवाती तूफान ‘अक्वान’ तटीय क्षेत्रमा ठोक्किएपछि कमजोर हुन थालेको छ । तर यसको प्रभाव भने अझै पूर्ण रूपमा समाप्त भएको छैन । उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटमा गोपालपुरनजिक प्रवेश गरेपछि यो प्रणाली उत्तर–उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बताएको छ ।
विभागका अनुसार चक्रवात क्रमशः गहिरो न्यूनचापीय प्रणाली र त्यसपछि न्यूनचापीय प्रणालीमा परिणत हुनेछ । त्यसपछि यो आज स्पष्ट न्यूनचापीय क्षेत्रका रूपमा कमजोर हुने सम्भावना छ । तूफानको तीव्रता घटे पनि पूर्वी तथा मध्य भारतका विभिन्न राज्यमा वर्षा जारी रहने सम्भावना छ ।
पश्चिम बङ्गाल, झारखण्ड, बिहार र छत्तीसगढमा भारी वर्षा, तीव्र हावा तथा चट्याङको जोखिम कायम रहेको छ । पूर्वोत्तर भारतका केही राज्यमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिइएको छ । मौसम विभागको पछिल्लो पूर्वानुमानअनुसार चक्रवाती तूफान ‘अक्वान’ तटमा ठोक्किएपछि कमजोर हुँदै उत्तर–उत्तरपूर्व दिशामा अघि बढिरहेको छ ।
यसको प्रभावले पूर्वी भारत र पूर्वोत्तरका विभिन्न राज्यमा वर्षा जारी रहन सक्छ । केही स्थानमा भारीदेखि अति भारी वर्षासँगै तीव्र हावा चल्ने र चट्याङ पर्ने जोखिम रहेको छ । नोभेम्बर २१ मा गङ्गीय पश्चिम बङ्गाल र झारखण्डका धेरै क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
पश्चिम बङ्गालका दक्षिणी जिल्ला, कोलकाता तथा आसपासका क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । यस क्रममा प्रतिघण्टा ३० देखि ४० किलोमिटरको गतिमा हावा चल्न सक्छ । उप–हिमाली पश्चिम बङ्गाल र सिक्किमका केही स्थानमा पनि मेघगर्जनसहित भारी वर्षा हुन सक्ने अनुमान छ ।
यता ओडिशामा भने चक्रवातका कारण भएको मुसलधारे वर्षापछि नोभेम्बर २१ मा वर्षा कम हुन सक्नेछ । मौसम विभागका अनुसार असम र मेघालयका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ । यस अवधिमा चट्याङ पर्ने जोखिमसमेत कायम रहनेछ ।
यसका अतिरिक्त नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुराका विभिन्न स्थानमा वर्षा हुन सक्छ । खराब मौसमलाई ध्यानमा राख्दै यी राज्यका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ । चक्रवाती तूफान ‘अक्वान’ को प्रत्यक्ष प्रभाव दिल्ली–एनसीआरमा नपरे पनि राजधानी क्षेत्रमा चिसो र कुहिरोको प्रभाव बढ्न थालेको छ ।
दिल्लीबाहेक हरियाणा र चण्डीगढका केही क्षेत्रमा पनि बाक्लो कुहिरो लाग्ने चेतावनी दिइएको छ । पूर्वी उत्तर प्रदेशमा भने चक्रवाती प्रणालीबाट बनेका बाहिरी बादलको प्रभाव देखिन सक्छ । केही क्षेत्रमा मेघगर्जनसहित चट्याङ पर्ने चेतावनी दिइएको छ ।
यस क्रममा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा तीव्र हावा चल्न सक्छ । नेपालसँग सीमा जोडिएको विहारमा चक्रवाती तूफान ‘अक्वान’ उत्तर–उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको प्रभाव मौसममा पनि पर्न सक्नेछ ।
मौसम विभागको पूर्वानुमानअनुसार आज विहार राज्यका धेरै जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी वर्षाको चेतावनीसमेत जारी गरिएको छ । यस अवधिमा मेघगर्जनसहित प्रतिघण्टा ३० देखि ४० किलोमिटरको गतिमा तीव्र हावा चल्न सक्ने। वर्षा र बादल लागिरहने कारण तापक्रम घट्ने अनुमान गरिएको छ ।



