एजेन्सी,कात्तिक ७
एएफसी यू–१९ महिला च्याम्पियनसिप–२०१९ को छनोटको पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्धन्द्धी थाइल्यान्डसँग पराजित भएको छ ।
थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको हो ।
खेलमा नेपाल शुरुवाती २० मिनेटमै २–० ले पछि परेको थियो । थाइल्यान्डकी पतारानन औचाई र टिपकृतिताले गोल गरिन् । शुरुवातमा कमजोर देखिएको नेपालले खेलको नवौं मिनेटमा गोल खाएको थियो ।
औचाईले डि–बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो । १७औं मिनेटमा टिपकृतिताले पेनाल्टीमार्फत गोल गरेपछि नेपाल २–० ले पछि परेको थियो । इन्जुरी समयमा सिरीविपाले गोल गर्दै थाइल्यान्डलाई ३–० को जित दिलाइन् ।
नेपालले अब शुक्रबार भारतको र आइतबार पाकिस्तानसँग खेल्नेछ । यी दुई टोलीलाई भने नेपालले केही साता अघि भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिपमा पराजित गरेको थियो ।