विराटनगर : जैन श्वेताम्बर तेरापन्ध सभा विराटनगरमा भाँडभैलो सुरु भएको छ । सभाको वर्तमान कार्यसमितिले सधारणसभा नै नगराई नयाँ कार्यसमिति निर्वाचन गराउन खोजेपछि भाँडभैलो भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
निर्वाचन तालिका अनुसार मंगलबार मतदाता नामावली प्रकाशित गर्नुपर्नेमा निर्वाचन समितिले मंगलबार बिहान १० बजे जैन भवनमा नामावली टाँस गरेकोमा असन्तुष्ट पक्षले नामावली नै च्यातिदिएको थियो ।
समितीको कार्यशैलीप्रति असहमती राख्नेहरुले साधारण सभा गरेर मात्र निर्वाचन गराउन बारम्बार माग गर्दै आईरहेका छन् ।सो पक्षले संस्थाको विधान अनुसार साधारणसभा बोलाएर मात्र निर्वाचन गराउनका लागि जिल्ला प्रशासन समेतलाई गुहारेको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि संस्थाको विधान अनुसार साधारणसभा गराएर मात्र निर्वाचन गराई सो को जानकारी यथाशिघ्र जिल्ला प्रशासन कार्यालयलाई गराउन पटक पटक निर्देशन दिएको थियो ।
त्यति हुँदा हुँदै पनि नियम मिचेर निर्वाचन गराउन खोजेपछि भाँडभैलो भएको हो ।