इनरुवा, कात्तिक ३०
सुनसरीको नेपाल भारत सीमा भाण्टाबारीको चारकुनेबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपालबाट भारत प्रवेश गर्न लागेका भीमनगर सुपौल बिहारका २३ वर्षीय रञ्जितकुमार मुखियालाई सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
बि.आर ५ एफ ३२०६ नम्बरको भारतीय अपाच्चे मोटरसाइकलमा सवार मुखियालाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा पेस्तोल बरामद भएको बीओपी भण्टाबारीका इन्चार्ज सुरेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
सशस्त्रले मुखियाको साथबाट पेस्तोल बरामद भएको बताएपनि गोली भने नभेटिएको जनाएको छ । पक्राउ परेका मुखिया हत्या आरोपमा भारतमा जेल सजाय भोगी २० दिनअघि मात्रै रिहा भएको बताइएको छ ।