एजेन्सी,मंसिर ९
अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेलमा भारत ६ विकेटले विजयी भएको छ । सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले दिएको एक सय ६५ रनको लक्ष्य भारतले १९ ओभर चार बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । जितसँगै भारतले तीन खेलको श्रृखंलामा एक एकको बराबरी गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६४ रन बनायो । उसका लागि डासी सोर्टले ३३ रन बनाए भने आरोन फिन्चले २८ रन बनाए । यस्तै स्टोनीसले २५ र कारेले २७ रनको योगदान गरे । बलिङ तर्फ भारतका कुर्नाल पाण्डेले चार विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको भारतल बलियो सुरुवात गर्यो । उसले विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु तीन विकेट सस्तैमा गुमाउदा उसले एक सय आठ रनमा चार विकेट खेर फाल्यो ।
भारतका लागि शिखर धवनले ४१ रन बनाए भने रोहित शर्माले २३ रनको योगदान गरे । यस्तै लोकेश राहुलले १४ रन बनाउदा कप्तान विराट कोहलीले कप्तानी पारी खेल्दै अर्धसतक बनाए । उनले अविजित ६१ रन बनाए । यस्तै दिनेश कार्तिकले २२ रन थपे भने रिशव पन्तले खाता खोल्न सकेनन ।
५७ महिना पछि सिड्नीमा टी–२० खेल खेलेका मिचेल स्टार्कसँगै ग्लेन म्याक्सवेलले एक एक विकेट लिए । तीन खेलको सिरीजमा पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो भने दोस्रो खेल बर्षाले रद्द भएको थियो ।