झापा, पुष ७
झापाको भद्रपुर नगर क्षेत्रमा खानेपानीको पाइप लाइन काटिएपछि नगर क्षेत्रको २३ सय घरपरिवार पानी पिउनबाट बञ्चित भएका छन् । चौबीस घण्टा धारामा पानी आउने नगर क्षेत्रमा बुधबार बेलुकादेखि पानी आउन छाडेपछि नगरबासी समस्यामा परेका हुन ।
अहिले नगर क्षेत्रमा जताततै नालासहितको सडक बनाउने काम सुरु भएको छ । नाला बनाउन नगरपालिकाले प्रयोग गर्ने जेसिभीले जथाभावी खन्न थालेपछि खानेपानीले ओछाएको पाइप काटिन थालेको नेपाल खानेपानी संस्थान भद्रपुरका प्रमुख सिरीसराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार भद्रपुर ६ स्थित भानुचोकमा ३ इन्च नाला खन्दा जेसीभीले १ इन्चको सिआई खानेपानीको पाइप काटिदिएको छ । खानेपानीको पाइप काटिएपछि भद्रपुरका केही वडामा खानेपानी ठप्प भएको उनले बताए । नगरबासीको सेवासुविधालाई मध्यनजर गर्दै विहान तीन घण्टा पानी सुचारु गरिएपनि अहिले पानी बन्द गरिएको छ ।
पानी बन्द गरेर खानेपानीका कर्मचारीले पाइप लाइन मर्मत संभार गरिरहेको र बेलुका सम्म खानेपानी सूचारु हुने उनले बताए । नगर क्षेत्रमा २३ सय घरधुरीले यस संस्थाबाट खानेपानीको पाइप जडान गरेका छन । यसैगरी भद्रपुर ३ स्थित आपगाछी छेऊमा रहेको झिलमिलिया खोला छेऊमा खानेपानी पाइप काटिएपछि दुई दिनदेखि त्यस क्षेत्रका २५ घरपरिवार पानी पिउनबाट बञ्चित भएका छन् ।