एजेन्सी, मंसिर १७
फ्रान्सेली लिग वनमा पेरीस सेन्ट जर्मेन (पीएसजी)को लगातार जितको यात्रा टुङ्गिएको छ ।आइतबार बोर्डोको घरेलु मैदानमा सम्पन्न भएको खेलमा बोर्डोले पीएसजी लाई २–२ बराबरीमा रोकेपछि पीएसजीको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको हो ।
पीएसजीले पहिलो हाफको ३४ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ड्यानी आल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अगाडि बढाएका थिए । बलमा पकड बनाएपनि पीएसजीले आक्रमण बुन्न भने सकेन ।
दोस्रो हापको सुरुवातमा घरेलु टोली खेलमा फर्कियो । ५३ औं मिनेटमा यान कारमाओको पासमा जिमी ब्रायन्डले गोल गर्दै खेल बराबरीमा ल्याए । ६६ औं मिनेटमा पीएसजीले पुनस् अग्रता बनायो । जुलियन ड्राक्सलरको पासमा युवा स्टार किलियन एमबाप्पेले गोल गरे ।
खेलको ६ मिनेट समय बाँकी रहँदा बोर्डोले फेरि बराबरी गोल फर्कायो । म्याक्सिम पाउन्जेको पासमा आन्द्रिएस कर्नेलियसले गोल गरेपछि पीएसजी बराबरीमा आएको थियो । अन्तिम समयमा पीएसजीले जित्ने मौका पाएपनि फरवार्ड चुपो मोटिङले अवसरको सदुपयोग गर्न सकेनन् ।
नेयमार दोस्रो हाफमा चोट बोकेपछि मैदान छाडेर गएका थिए । उनको स्थानमा ५७ औं मिनेटमा चुपो मोटिङ आएका थिए । एमबाप्पलेलाई पनि खेलदौरान ह्यामस्ट्रिङको समस्या देखिएको थियो तर उनले पुरै समय खेले ।
यो सँगैे शत प्रतिशत जित यात्रा टुंग्याएको पीएसजीले अंक तालिकामा फराकिलो अन्तर कायम राखेको छ । १५ खेलमा १४ जित र १ बराबरसहित ४३ अंक जोडेको पीएसजी दोस्रो स्थानको मोन्टपेलेरभन्दा १४ अंक अगाडि छ ।