विराटनगर,मंसिर २२
प्याब्सन मोरङको १४ औँ जिल्ला अधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले निजी विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिए ।
शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै प्रमुख तुम्बाहाङले रोजगारमूलक शिक्षामा ध्यान दिन निजी विद्यालयहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे, महासचिव राजेन्द्र बानिया, सल्लाहकार टीकाराम पुरी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिघिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । कार्यक्रममा मकालु टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदितसहित ५ जनालाई सम्मान गरिएको छ ।
साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय नवोदितलाई एक नम्बर प्रदेशका प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै कार्यक्रममा साहित्यकार देवी पन्थी र पत्रकार महेन्द्र विष्टलाई पनि सम्मान गरिएको थियो ।
शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएबापत विराटनगरस्थित सगरमाथा बोर्डिङ स्कुलका सञ्चालक वासुदेव न्यौपाने र कोशी विद्या मन्दिरका सञ्चालक राजेशकुमार दासलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका तुम्बाहाङले सम्मान गरेका थिए । प्याब्सनले अधिवेशनको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।