मोरङ कोलेनिकाका कर्मचारीहरु आन्दोलित

मोरङ कोलेनिकाका कर्मचारीहरु आन्दोलित

विराटनगर, पुस १६
सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले अन्यौलता सृजना गरेको भन्दै मोरङका लेखा समूहका कर्मचारीहरु पनि आन्दोलित भएका छन् । देशभरिका कर्मचारीसँगै अध्यादेशको विरोधमा उत्रिएका मोरङमा कार्यरत लेखा समूहका कर्मचारीहरुले विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय परिसरमा धर्ना दिएका हुन् ।

उनीहरुले सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिएका हुन् । धर्नामा बसेका कर्मचारीहरुले कानुनको शासन पालना गराउँ, विभेदकारी समायोजन स्वीकार्य हुँदैन, संघमा ठाउँ देउ, गाउँ जान तयार छौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका कर्मचारीहरुले केन्द्र सरकारअन्तर्गतको महालेखा नियन्त्रण कार्यालयबाटै परिचालित हुन पाउनुपर्ने माग गरेका छन् । संघ, प्रदेश र विभिन्न स्थानीय तहअन्तर्गत रहेर सेवा दिंदै आएका उनीहरुले प्रदेशबाट परिचालित हुनुपर्दा देशभरिको एकीकृत आर्थिक विवरण तयार गर्न समस्या हुने दाबीसमेत गरेका छन ।

मोरङको बेलबारी नगरपालिकामा कार्यरत लेखा अधिकृत टेकनाथ रेग्मीले हुलमुलमा गरिने समायोजनले कर्मचारीको बृत्तिविकासमा समेत अवरोध हुने दाबी गरे । लेखा समुहका कर्मचारीहरुले महालेखा नियन्त्रक कार्यालयमार्फत अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्रसमेत पठाएका छन् ।

अध्यादेशको विरोधमा उत्रिएका उनीहरुले आइतबार कोष तथा लेखा नियन्त्रक कार्यालयमा १ घण्टा धर्ना दिएका थिए । बिरोधका थप कार्यक्रमअन्तर्गत १७ गते पेन डाउन र १८ गते आर्थिक कारोबार ठप्प पार्ने उनीहरुले जनाएका छन् । मोरङमा १ सय ५० जना लेखा समूहका कर्मचारी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.