इटहरी, माघ १२
असनरत डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले सामूहिक अनसन सुरु गरेका छन् । लिवरल सोसाइटीमा आवद्ध युवाहरुले डाक्टर केसीको अनसन जारी रहेको समयमा उनको स्वास्थ्यमा समस्या देखिन थालेको भन्दै जिवन रक्षाको माग राख्दै अनसन थालेका हुन् ।
सोसाइटका अध्यक्ष सुवेक्षुक देवान राईसहितका युवाहरुले इटहरीको रेयुकाई चौतारीमा २४ घण्टे अनसन सुरु गरेका हुन् । डा.केसीको १६औं अनसन जारी रहेको सन्र्दभ पारेर लिवरल सोसाईटीका १६ जना युवाहरु साथै अनसनको समर्थनमा अन्य थप केही युवाहरु पनि सामूहिक अनसनमा बसेका छन् ।
डा. केसीको जिवन रक्षा र उनका मागहरु सम्वोधनका लागि २४ घण्टे अनसन सुरु गरेको अनसनरत युवाहरुले वताएका छन । सोसाईटीका अध्यक्ष राईले आफुहरुको माग पुरा नगरिए थप अन्य रचनात्मक संघर्षका कार्यक्रम गर्ने जानकारी दिए ।