विराटनगर,माघ १४
तराई मधेशका क्षेत्रहरुमा कुष्ठरोगीको संख्यामा तुलनात्मक रुपमा कमी नआएको देखिएको छ । झापा, मोरङ, सुनसरी,उदयपुरलगायतका जिल्लामा अहिले पनि कुष्ठरोगीको संख्या उल्लेख्य रहेको तथ्याङ सार्वजनिक भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटा प्रदेश नम्बर १ को आयोजनामा आईतबार विराटनगरमा भएको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले नयाँ बिरामीको संख्यामा वृद्धि भएको जानकारी दिए । यस्तै उनले आर्थिक वर्ष २०७४÷०७५ मा ९६ नयाँ बिरामी कोशी अञ्चल अस्पतालमा आएको बताउँदै चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २५ जनाले उपचार लिएको बताए । उनले अहिले पनि नयाँ नयाँ कुष्ठरोगीको संख्यामा तुलनात्मक रुपमा केही मात्रामा वृद्धि भएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले प्रति १० हजारमा १ जनाभन्दा कम भएमा मात्र कुष्ठरोग निवारण हुने भएपनि झापा २ सय ७६,मोरङमा १ सय ५१ र सुनसरीमा ७३ रहेकोले निर्धारित मापदण्डभन्दा माथि रहेको बताए । शरीरमा नचिलाउने रातो फुस्रो दाग देखिनु, अनुहार तथा कानको लोती बाक्लो हुनु, नसा झमझम गर्नु लगायतका कुष्ठरोगका लक्षण हुन् । नियमीत रुपमा औषधि सेवन गर्दा यो रोग निको हुने चिकित्सकहरुले बताएका छन् ।
कुष्ठरोग खोजपडताल र उपचारमा सहयोग गर्ने संस्था एनएलआरका सहनिर्देशक नन्दलाल बास्तोलाले २०१५ देखि झापामा प्रति १ लाखमा २२ जना र मोरङमा प्रति १ लाखमा २१ जना नयाँ बिरामी भेट्टिएकोमा अहिले झापा र मोरङमा प्रति लाखमा ११, ११ जना नयाँ बिरामी फेला परेकोमा क्रमिक रुपमा घटने बताए । यस्तै कोशी अञ्चल अस्पतालको कुष्ठरोग विभागमा उपचार गराइरहेका बिरामीहरुलाई ६६ औं विश्व कुष्ठरोग दिवसका अवसरमा फलफूल वितरण गरिएको थियो ।