काठमाडौं, फागुन १
सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेका हुन् । अब सरकारले आफ्ना नागरिकलाई न्युनतम् सय दिन रोजगारीको ग्यारेन्टी गर्नेछ र नभए निर्वाह भत्ता दिनेछ ।
सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले निर्वाह भत्ता पाउँदैन ।
अब प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएसँगै पहिलो काम बेरोजगारहरूको तथ्यांक संकलन हुनेछ । संसदको वर्षे अधिवेशनले ‘रोजगारीको हकसम्बन्धी ऐन ०७५’ र त्यसको नियमावली अनुसार ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
रोजगार संयोजकका लागि २ हजार २५९ जनाको सर्ट लिष्ट मन्त्रालयले तयार गरेको छ । मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासु सरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट तयार गरेको हो । उनीहरु मध्येबाट ७५३ जना रोजगार संयोजक नियुक्त गरी सबै स्थानीय तहमा खटाउने मन्त्रालयले जनाएको छ ।
रोजगार संयोजक नियुक्त हुनासाथै सरकारले प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र ‘ स्थापना गरिने छ ।चैत्र १ गते देखि बेरोजगार व्यक्तिको दर्ता सुरु हुनेछ ।
सेवा केन्द्रले स्थानीय तहभित्रका बेरोजार नागरिकलाई सूचीमा आवद्ध हुन निश्चित समयसीमा दिएर आहृवान गर्नेछन् । त्यसकै आधारमा बेरोजार युवाले सरकारलाई ‘म बेरोजगार छु’ भन्ने सूचना दिनेछन् ।
स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक समावेश हुनेछन् । रोजगार सेवा केन्द्रले बेरोजगारको सूचीसँगै आफ्नो क्षेत्रमा रहेका रोजगारदाता र सरकारी स्तरका रोजगार सम्भाब्य विकास आयोजनाको तथ्यांक पनि संकलन गर्नेछन् । सरकारको खर्चबाट बनिरहेका आयोजनाले आफूलाई चाहिने जनशक्तिबारे स्थानीय तहलाई जानकारी दिनुपर्नेछ ।
रोजगार संयोजकले असार १० भित्र जेठ मसान्तसम्म रोजगारी नपाउनेहरुको संख्या र न्यूनमत १०० दिन रोजगारी नपाउनेहरुको संख्या छुट्याउनेछ । रोजगारीको हकसम्बन्धी ऐनमै कम्तिमा सय दिन काम दिने व्यवस्था छ । त्यसैअनुसार एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारी दिने योजना बनाइएको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन् ।
काम नभए भत्ता
सरकारले न्यूनतम सय दिन काम दिन नसकेमा बेरोजगारी नागरिकलाई निर्वाह भत्ता पनि उपलब्ध गराउनेछ । कम्तिमा ५० दिनको काम गरे बराबर निर्वाह भत्ता दिइनेछ । रोजगार सेवा केन्द्रले असार १५ भित्र निर्वाह भत्ता पाउने योग्य परिवारको पहिचान गर्नेछ । उनीहरुलाई एकमुष्ट २५ हजार ८५० रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउनेछ । निर्वाह भत्ता पाउने मापदण्ड भने सरकारले निकै कडा बनाएको छ ।
यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा समस्या पैदा गर्ने प्रयास भइरहेको बताएका छन् । तर, त्यो सफल नहुने उनको दाबी छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध विगार्न प्रयास भइरहेको समेत दाबी गरे । तर, सरकार स्पष्ट विदेश नीतिका साथ खुलस्त पारदर्शी ढंगले अन्तर्रा्ष्ट्रिय मञ्चमा उत्रिएको उनले बताए ।
