एजेन्सी, फागुन १६
स्पेनिस बार्सिलोनाले नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रेमा नयाँ रेकर्ड कायम गरेको छ । सेमिफाइनलअन्तर्गत गत राति भएको खेलमा रियल मड्रिडलाई हराएर फाइनल पुग्दा बार्सिलोनाले नयाँ रेकर्ड रचेको हो ।
सर्वाधिक धेरै ३० पटक कोपाको उपाधि जितेको बार्सिलोनाले यस वर्षसँगै लगातार ६ पटक कोपाको फाइनल पुगेर रेकर्ड बनाएको हो । ऊ लगातार ६ वर्ष फाइनल पुग्ने एक्लो टिम हो ।
अहिलेसम्म लगातार ६ वर्ष कुनै पनि टोली कोपाको फाइनल पुगेका थिएनन् । तर, अब यो रेकर्ड बार्सिलोनाको नाममा रहेको छ ।
त्यत्ति मात्र हैन, बार्सिलोना लगातार पाँचौंपटक कोपाको उपाधि जित्ने अवसरसामुसमेत पुगेको छ । यसपटक पनि फाइनल पुगेको उसले फाइनलमा उपाधि जिते लगातार पाँचपटक उपाधि जित्ने रेकर्ड पनि उसले कायम गर्नेछ । गत राति भएको खेलामा बार्सिलोनाले आफ्नो खास प्रतिस्पर्धी रियल मड्रिडलाई उसकै घरमा ०–३ ले हराएको थियो । अघिल्लो लेग १–१ को बराबरीमा सकिएको थियो । दुवै लेगपछि बार्सिलोनाले समग्रमा ४–१ को जितसहित फाइनल प्रवेश गरेको हो ।
कोपाको उपाधि बार्सिलोनाले सर्वाधिक धेरै ३० पटक जितेको छ । त्यसपछि दोस्रो धेरै उपाधि जित्ने टिम एथ्लेटिक बिल्बाओ हो, उसले २३ पटक कोपा जितेको छ । तेस्रो टोली रियल मड्रिड हो, उसले १९ पटक यो उपाधि जितेको छ । बार्सिलोनालाई यसपटक पनि कोपाको प्रमुख उपाधि दाबेदार मानिएको छ । उसले अब फाइनलमा उपाधिका लागि आज राति हुने भ्यालेन्सिया र रियल बेटिसबीचको विजेता टोलीसँग भिड्नेछ ।