काठमाडौं, फागुन २१
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड २०१९ को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । सन्दीपले अवार्ड जित्ने क्रममा कप्तान पारस खड्कासँगै दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछाडी पारे ।सन्दीपले उपाधिसँगै १ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे । सन्दीपको अनुपस्थितिमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उनको उपाधि ग्रहण गरे ।
खेलाडीहरुको अघिल्लो वर्षदेखि युएईविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा विजेता छनोट गरेको सिप्यानले जनाएको छ । सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट कुल ३२ खेल खेले । यसक्रममा उनले ८४ विकेट हात पारेका छन् । उनले वान डे खेलमा ५५ विकेट र १० टि–२० खेलमा २९ विकेट हात पारेका छन् । डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप छनोटमा पनि उनले पपुवा न्यू गिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए ।
टि–२० विश्वकप छनोटमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा २४ विकेट हात पारेका थिए । यूएईविरुद्ध ओडीआई सिरिजमा ७ विकेट लिएका सन्दीपले त्यसअघि एसिया कप छनोटमा ५ खेलमा १४ विकेट लिए ।










