काठमाडौं । सरकारले देश घुम्ने आफ्ना नागरिकहरुको पहिचान गर्ने भएको छ । सरकारले देश घुम्ने नेपालीहरुको तथ्यांक संकलन गर्न तथ्यांक विभागलाई जिम्मा दिएको छ र विभागले प्रारम्भिक अध्ययनको काम अघि बढाउन लागेको छ । तथ्यांक विभागका निर्देशक जिष्णुमोहन भट्टराईका अनुसार प्रारम्भमा ५ सय परिवारमा पाइलट अध्ययन गरिनेछ । त्यसका आधारमा आगामी वर्षमा विस्तृत अध्ययन हुनेछ ।
सरकारले ‘पहिले देश अनि विदेश’ भन्ने नारासहित आन्तरिक पर्यटन प्रवद्र्धन गरिरहेको छ । सोही अभियान अन्तर्गत आफ्ना नागरिकहरुलाई देशका गन्तव्यहरुको भ्रमणमा अभिप्रेरित गरिरहेको छ । ‘आन्तरिक पर्यटन उपभोग सर्वेक्षण २०७५।७६’ नाम दिईएको अध्ययनमा ८ पृष्ठ लामो प्रश्नावली समेटिएका हुनेछन् ।
प्रारम्भिक अध्ययनका लागि नेपाल पर्यटन बोर्डले ५० लाख रुपैंयाँ उपलब्ध गराउनेछ । आगामी आर्थिक वर्षमा गरिने राष्ट्रिय सर्वेक्षणका लागि भने ४ करोड रुपैंयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।
कसरी हुन्छ सर्वेक्षण ?त्यस्तै, कुन महिनामा घुमेको हो, कस्तो प्रकृतिको सवारी साधनको उपयोग गरेको हो ? कुन प्रयोजनका लागि घुमफिर गरेको हो ? घर/डेरा वा अफिसबाट कति टाढाको यात्रा गरेको हो ? कुन कुन प्रयोजनमा कति खर्च भएको भन्ने विवरण समेटेर ३० दिने अवधीको पनि अर्काे तथ्यांक निकालिनेछ ।
के हुन्छ अध्ययनबाट ?
‘आन्तरिक पर्यटन उपभोग सर्वेक्षण २०७५/७६’ले नेपालीहरुको घुमफिर गर्ने प्रवृत्ति पत्ता लाग्नेछ । नेपालीहरुले आन्तरिक भ्रमणमा कति खर्च गर्छन् भन्ने तथ्य समेत पत्ता लगाउने यो अध्ययनले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति छ भन्ने समेत एकिन गर्न सहज हुने विभागका निर्देेशक भट्टराईले बताए । यो अध्ययनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा कस्ता कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने समेत पत्ता लाग्ने भट्टराईले जानकारी दिए ।