धनगढी : कैलालीको टीकापुरबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र महेन्द्रनगरदेखि नारायणघाटका लागि छुटेको ना ७ ख २२६ नम्बरको नरायणी यातायातको बस कैलालीको लम्कीमा एकापसमा ठोक्किदा १९ जना घाइते भएका छन्।
शनिबार बिहान ८ बजेतिर कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ गुलरामा दुईटै बस एकापसमा ठोक्किएका हुन्। बसको ठक्करबाट ना ४ ख ५१३२ नम्बरका चालक दिनेश बोहरा, ना ७ ख २२६ नम्बर बसका चालक प्रेम श्रेष्ठ, यात्रुहरु गौतम थारु, दिप प्रभात र रञ्जु खडका गम्भीर घाइते भएका छन्।
पाँचै जनालाई लम्कीको लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक जनकबहादुर सिहले जानकारी दिए।
दुबै चालकका खुट्टा भाचिएको प्रहरीले जनाएको छ। पाँच जना बाहेक थप तीन जना घाइतेलाई कोहलपुर रेफरको तयारी भइरहेको प्रहरीले जनाएको छ। तराईमा बाक्लो हुस्सु लागेकाले बसहरु एकापसमा ठोक्किने क्रम बढेको छ। तराईमा पछिल्लो १३ दिन देखि बाक्लो हुस्सु लागेको छ।