विराटनगर,चैत १०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आइतबारदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु परीक्षा ११ बजेसम्म हुनेछ । पहिलो दिन आइतबार अनिवार्य अंग्रेजी विषयको परीक्षा मर्यादितरुपमा सम्पन्न भएको छ । मोरङमा निर्धारण गरिएको ६९ वटा केन्द्रबाट १८ हजार ३ सय ५२ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।
अंग्रेजी बिषयको परीक्षामा नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थी सहभागी भएका छन् । परीक्षा शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन आवश्यक रुपमा प्रहरी परिचालन गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले पहिलोदिनको परीक्षामा कुनै प्रकारको अवान्छित गतिविधि नभएको र मर्यादितरुपमा सम्पन्न भएको बताए ।
ग्रेड बृद्धिको परीक्षाकालागि विराटनगर १ स्थित श्रीराधाकृष्ण माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ । सो केन्द्रमा २ सय ८४ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन । मोरङमा परीक्षा सम्पन्न गर्न ९ सय २१ जना निरीक्षक,६९ जना केन्द्राध्यक्ष,९० जना साहायक केन्द्राध्यक्ष,१ सय ८९ कर्मचारी र ३ सय ६७ जना कार्यालय सहयोगि खटिएको शिक्षा इकाइ मोरङले जनाएको छ ।
देशभरिबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन । जसमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । प्रदेश एकबाट भने ८३ हजार ८ सय १८ विद्यार्थीले एसइई परीक्षा दिइरहेको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ का उपसचिव दिव्यराज कट्टेलले जानकारी दिएका छन ।