काठमाडौं, चैत २८
नेपाली महिला राष्ट्रिय फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरण खेलेर स्वदेश फर्केको छ । नेपाली टोली बिहीबार स्वदेश फर्केको हो । महिला टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
ओलम्पिक छनोटका लागि नेपालले म्यानमारमा ३ खेल खेलेको थियो ।चार टोलीको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गरेको थियो । आयोजक म्यानमार ओलम्पिक तेस्रो चरणका लागि छनोट भएको छ । नेपालले खेलेका तीन मध्ये २ मा हार र एकमा जित हिसिल गरेको थियो ।आयोजक म्यानमार र भारतसँग पराजित नेपाली टोलीले इन्डोनेसियामाथि भने जित दर्ता गराएको थियो ।
इन्डोनेसियालाई २–१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । यो सँगै राष्ट्रिय टोलीमा सावित्राले २८ गोल गरेकी छिन् । नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको सुचिमा उनी दोस्रो नम्बरमा छिन् । पहिलो नम्बरमा राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामा रहेकी छिन् । उनको नाममा ३५ गोल छ ।
छनोटका सुरुवाती दुई खेलमा नेपाल म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो । यसै महिना विराटनगरमा भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल भारतसँग ३–१ ले नै पराजित भएको थियो ।