इलाम, माघ ५
जंंगली हात्तीले उपद्रो मच्चाएपछि इलामको दक्षिणी चुलाचुलीका गाँउले त्रसित बनेका छन् । जंगली हात्तीले घर भत्काउने साथै अन्नबाली नष्ट गरी दिएपछि त्यस क्षेत्रका वासीन्दा त्रसित भएका हुन् । चुलाचुली वडा नं १, ४ र ५ का दश घर हात्तीले भत्काएपछि हात्ती पीडित विचल्लीमा परेको गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल खतिवडाले बताए ।
वडा नं. ५ का ललितकेन्द्र राईको घर हात्तीले आक्रमण गरी पटकपटक भत्काईदिएपछि केही दिनदेखि छिमेकीकामा आश्रय लिएर बसेका छन् । जंगली हात्तीले ललित केन्द्र, मनु राई, नेत्रप्रसाद बाँस्कोटाको घर बुधबार भत्काइ दिएको थियो । वडा नं. ४ का नरबहादुर भुजेलको घरमा राखेको धान, कोदो र तोरी खाइदिएको गाउँपालिकाको उपाध्यक्ष निर्मला दाहालले बताइन् ।
त्यस्तै, वडा नम्बर ५ का तुलसी पौडेल, खेमनाथ अधिकारी, गणेश लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिबाङ र मानबहादुर लिबाङको घर हात्तीले पूरै भत्काई दिएको छ । जंगली हात्तीको आक्रमणले किसानले लगाएको बाली नष्ट गरेर बसाइँ सर्ने अवस्थामा पुगेको वडा नम्बर ५ का हात्ती पीडित नेत्रप्रसाद बाँस्कोटाले बताए ।
चुलाचुलीवासीले जंगली हात्तीको तत्काल नियन्त्रणको माग गरेका छन् । हात्तीले गरेको विनाशको अवलोकन गर्न गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई नेतृत्वको टोलीले बिहीबार हात्तीले भत्काएको घर र किसानले लगाएका बाली क्षतिको अवलोकन गरेको हो । टोलीमा अध्यक्ष राई, इलाका वन कार्यालय र कृषि सेवा शाखा कार्यालय चुलाचुलीका प्रमुख र प्रतिनिधि सहभागी थिए ।
हात्तीपीडित चुलाचुली ४ का तीन परिवारलाई हिन्जानिसाम बाल क्लब र स्टार स्पोर्टिङ क्लब, चुलाचुलीले राहत वितरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच हात्तीको आक्रमणबाट घर नष्ट भएका पीडित तीन परिवारलाई नगद १५ हजार र चामल राहत दिएको हो ।