काठमाडौं । नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटालाइट (भू–उपग्रह) पठाएको छ । नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट–१’ नामक भू–उपग्रह प्रक्षेपण गरिएको हो । वैशाख ५ गते बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जि्नियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट–१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो। ‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ।
जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका हुन। नेपालीस्याट–१लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका हुन। क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू–उपग्रह निर्माण भएको हो।
नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने ‘नेपालीस्या–१’ले दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ। भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।