काठमाडौं, वैशाख १६
संघीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन आज सुरु हुँदै छ । संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपराह्न ४ बजे बोलाएको छ । बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सभामुखले सुनाउनेछन् । बैठकमा सत्ता र प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना छ ।
संसद सचिवालयका अनुसार हिउँदे अधिवेशन अन्त्य भएको गत चैत ११ गतेपछि निधन भएका पूर्वसांसदहरु प्रति शोक प्रस्ताव पारित हुनेछ । चैत २६ गते पूर्वसांसद, उद्योगी दिवाकर गोल्छा, चैत २८ गते पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र वैशाख १० गते पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन भएको थियो ।
अबको अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६(०७७ को बजेट प्रस्तुत गर्नेछ । नीति तथा कार्यक्रम भने सरकारले प्राथमिकता समेटेर बजेटअघि सार्वजनिक हुनेछ ।
राष्ट्रपति भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले भने सरकारले यसअघि घोषणा भएका कार्यक्रमहरुको प्रभावकारिताबारे सत्तापक्षसँग जवाफ खोज्ने रणनीति बनाएको छ । कांग्रेसले बजेटको सैद्धान्तिक छलफल नै नगराई नीति तथा कार्यक्रम ल्याउन लागिएको भन्दै आपत्ति जनाएको छ ।