राजस्थान माथि सहज जित निकाल्दै दिल्ली दोस्रो स्थानमा उक्लियो

एजेन्सी, बैशाख २१
राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदान फिरोज शाह कोटलामा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा छनोट हुने सम्भावना बलियो बनाएको हो ।

राजस्थानले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले ५ विकेट गुमाउँदै १७ औं ओभरमा प्राप्त गर्यो । दिल्लीका लागि ऋषभ पन्तले आक्रम अर्धशतक प्रहार गरे । उनले ३८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मदतले नटआउट ५३ रन जोडे । दुवै ओपनरलाई लगातार बलमा गुमाएको दिल्लीलाई पन्तले जितसम्म डोर्याएका थिए ।

दिल्लीका लागि पृथ्वी शा ८, शिखर धवन १६, कप्तान श्रेयस ऐर १४ र कोलिन इन्ग्राम १२ रनमा आउट भए । शेरफान रदरफर्ड ११ तथा अक्षर पटेल १ रनमा नटआउट रहे । राजस्थानका लागि इश सोधीले ३ तथा श्रेयस गोपालले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । युवा खेलाडी रियान परागले रनको अर्ध शतकीयत इनिङ्ग खेल्दै राजस्थानलाई सम्मानजनक अवस्थामा पुर्याए । अन्तिम बलमा ट्रेन्ट बोल्टले शेरफेन रदरफोर्डबाट क्याच गराउनु अघि परागले ४९ बलको सामना गरि ४ चौका र २ छक्का प्रहार गरे । अन्य कुैनपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

लियाम लिभिङ्गस्टोन १४,कप्तान अजिंक्या रहाणे २,सन्जु स्यामसन ५,श्रेयस गोपाल १२,स्टुअर्ट बिन्नी सुन्यमा आउट भए । कृष्णप्पा गौतम र इश सोधीले समान ६ रन बटुले । अमित मिश्राले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इशान्त शर्माले ३,ट्रेन्ट बोल्टको नाममा २ विकेट रह्यो ।

यस जितसँगै दिल्लीले लिग चरणका सबै १४ खेल खेल्दै १८ अंक जोडेको छ । शीर्षस्थानको चेन्नई पनि समान १८ अंक जोड्दै रनरेटको आधारमा शीर्षस्थानमा छ । राजस्थान भने १४ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा सिमित रहयो ।

Scroll to Top