लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको एउटा डुंगा भूमध्यसागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी नियोग युएनएचसीआरले ट्युनिसियानजिक समुद्रमा डुंगा दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेका १६ जनाको उद्दार गरिएको छ । समुद्रमा आएको ठूलो छालमा परेर डुंगा दुर्घटना भएको उद्धार गरिएकाहरुले बताएका छन् । युएनएचसीआरले यो वर्ष लिबियाबाट युरोप जान लागेका १ सय ६४ जनाको डुंगा दुर्घटनामा परेर मृत्यु भइसकेको जनाएको छ । यद्यपी पछिल्लो दुर्घटना यो वर्षकै सबैभन्दा ठूलो भएको बताइएको छ । दुर्घटनामा परेर पनि बाँच्न सफल भएकाहरुलाई ट्युनिसियाको नौसेनाले आफ्नो देशको तटसम्म ल्याएको छ । एक जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ट्युनिसियाको रक्षा मन्त्रालयले दुर्घटना भएको थाहा पाउने वित्तिकै माछा मार्न प्रयोग गरिने डुंगा परिचालन गरेर उनीहरुको उद्दार गरिएको जनाएको छ । डुंगामा सवार अधिकांश व्यक्ति अफ्रिकी मुलुकका भएको बताइएको छ । हरेक वर्ष हजारौं आप्रवासी भूमध्य सागर पार गर्दै युरोप छिर्ने प्रयास गर्ने गरेका छन् ।