झापा, बैशाख २९
झापाको कंकाई नदीको पुल नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको छ । मर्निङवाकमा निस्किएका सर्वसाधारणले पुल नजिकै बोराले बेरिएको प्रेसर कुकर बम देखिएको भनेर प्रहरीलाई खबर गरेका थिए । बम फेला परेपछि सो स्थानमा सवारीसाधन ठप्प भएको थियो ।
नेपाली सेनाको टोलीले बम निश्क्रिय पारेपछि सडक सुचारु भएको छ । विहान ५ बजेदेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग साढे ८ बजेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक अवरुद्ध हुदाँ यातायातका सवारीसाधन चल्न नसक्दा गन्तव्यतर्फ पुग्ने यात्रु घण्टौ सडकमै पर्खिनु परेको थियो ।
मेचीनगरस्थित श्रीनाथगण चारआलीबाट आएको नेपाली सेनाले प्रेसर कुकुर बमलाई नदीमा लगेर डिस्पोज गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यसैबीच प्रेसर कुकर बम भने गोर्र्खा नेपाल जनुमक्ति मोर्चाले राखेको खुलेको छ ।
बम नजिकै मोर्चाले राखेको पर्चा फेला परेपछि मोर्चाको संलग्नता खुलेको हो । पर्चामा सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अगिकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ ।