संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो । काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ । समितिले राष्ट्रिय खानेपानी तथा सरसफाई नीति र सो सम्बन्धि ऐन शीघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ । बैठकमा खानेपानीमन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकार्वाहीलाई अघि बढाइएको दाबी पनि गर्नुभयो । इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानीको बाँकि काम अलपत्र छोडेर हिंडेपछि त्यसलाई अघि बढाउन नसकेको भन्दै मन्त्री मगरको सर्वत्र आलोचना भइरहेको छ ।