पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवद्र्धन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट पारेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका पाण्डेले मुलुकलाई समृद्ध बनाउन व्यवसायलाई प्रवद्र्धन गरेर अघि बढ्ने खालको आर्थिक नीति तथा बजेट ल्याउन पनि सरकारलाई सुझाव दिए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यवसायलाई निरुत्साहित हुने खालका गतिविधि सरकारी तहबाटै भएकाले नेपालको समृद्धि हुन नसकेको तर्क पनि गरे । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भने मुलुकलाई समृद्ध बनाउन सडकको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिनु भयो । उनले पूर्वाधारको विकास गरेर मुलुकमा कायम रहेको आर्थिक वृद्धिदरलाई दीगो बनाउन सकिने पनि स्पष्ट पारे । पूर्व अर्थमन्त्री कोइरालाले सरकारले रेल सेवामा भन्दा पनि सडक यातायातको विकासमा जोड दिएर आवश्यक योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।