भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन् । पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनको गोलले सेथुविरुद्ध पहिलो हाफमा अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा भने टिकाउन सकेन । ५६ औं मिनेटमा सेथुलाई मणिपुरले एक गोल दिएको थियो । ग्रेसले प्रहार गरेको बल क्लियर गर्न खोज्दा उमापत्ति देवीले आफ्नै पोष्टमा गोल गरेकी थिइन् । १–१ गोलको बराबरी भएकाले बेला सेथुका लागि नेपाली खेलाडी सावित्राले ६१ औं मिनेटमा गोल थप्दै अग्रता २–१ बनाउन सफल भइन् । जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सावित्राले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो । सावित्रा प्लेयर अफ् द म्याज समेत बनिन् । त्यसपछि थप गोल नभएपछि सेथुले उपाधि जित्न सफल भयो । नेपालबाट यस प्रतियोगितामा सावित्रा र अनिता बस्नेतले खेलेका थिए । सावित्राले प्रतियोगिता अवधिभर १५ गोल गरिन् भने अनिताले १ गोल गरिन् ।