भारतीय लोकसभा चुनावको मतगणना बिहीबार भईरहेको छ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो ।
गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । बिहीबार ८ हजार ४० उम्मेदवारको भाग्य फैसला हुँदैछ । कुल ५४३ सिट रहेको लोकसभामा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सिट जित्नुपर्नेछ । सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो । यो वर्ष भारतको चुनावमा ९० करोड योग्य मतदाता थिए । मतगणना स्थानीय समय अनुसार बिहीबार बिहान ८ बजेदे िखजारी छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ ।
मतगणनाको प्रारम्भिक परिणाममा भारतीय जनता पार्टीसहितको गठबन्धनले ३३४ भन्दा बढी सिटमा अग्रता लिएको छ । भारतीय जनता पार्टी एक्लैले २८५ सिटमा अग्रता लिइरहेको छ । भारतीय जनता पार्टीका चर्चित अनुहार प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो चुनाव क्षेत्रमा करिब ६९ हजार मतले अग्रता बनाएका छन ।
वाराणसी क्षेत्रबाट उम्मेदवारी दिनु भएका उहाँले ६९ हजार मतभन्दा बढीले अग्रता लिइसकेका छन । यस्तै उत्तर प्रदेशको अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले कडा टक्कर दिइरहेकी छन ।