काठमाण्डौ । एक्सपर्ट प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
समूह बी अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई ७५ रनले हरायो । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पुलिसले ४३.१ ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले शतक प्रहार गरे ।
ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले १ सय १८ बलमा १ सय ६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै त्यो योगफल तयार पारेका थिए । पुलिसको इनिङमा अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।ओपनर पवन १० रनमा आउट भए भने अर्का ओपनर अनिल कुमार शाह ४ रनमा, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, मञ्जित श्रेष्ठ ११, रामनरेश गिरी ११ कुशल भुर्तेल २४ र ललित नारायण राजवंशीले १ रनमात्र जोडे ।बलिङतर्फ कमल खत्री, फिदोष अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट बाँडे । १ सय ८६ रनको लक्ष्य पछ्याएको प्रदेश १ सय ३६ ओभरमा १ सय १० रनमा अलआउट भयो । प्रदेश १ का लागि सन्नी पुनले सर्वा्धिक २७ रन बनाए भने मिनास थापाले १९ रन जोडे । अन्य ब्याट्सम्यानले झनै खराब प्रदर्शन गरे ।
प्रदेश १ लाई हराउनका लागि दिपेन्द्र सिंह ऐरी एक्लैले पाँच विकेट लिए भने ललित नारायण राजवंशीले तीन विकेट हात पारे । आरिफ शेख र सागर ढकालले पनि एक विकेट लिए ।