विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ ।
इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीचको खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुनेछ । आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । ११ औं संस्करणको विश्वकप सकिदा दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । यद्दपि इंग्ल्याण्डले ३ पटक फाइनल खेलिसकेको छ । दक्षिण अफ्रिकाले भने फाइनल यात्रा तय गर्न सकेको छैन । गत संस्करणको विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने अफ्रिका सेमिफाइनलमा अभागी साबित भएको थियो । घरेलु मैदान दि ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् । यता, दक्षिण अफ्रिका पहिलो खेलमा बलियो इंग्ल्याण्डलाई हराएर विश्वकप यात्रा तय गर्न योजनामा छ ।
विश्वकपमा १० टिमको सहभागिता रहेको छ भने कुल ४८ खेल हुनेछन् ।