बुटवल, माघ ११
५ नं. प्रदेश का प्रमुख उमाकान्त झाले छिट्टै प्रदेश सरकार गठन हुने बताएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै झाले प्रदेश अधिवेशन र सरकार गठन तत्काल गरिने बताए ।
निर्वाचनको नतिजा सार्वननिक भएको २० दिनभित्र प्रदेशसभाको संसद बैठक बस्नुपर्छ भने ३० दिनभित्र मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन भइसक्नु पर्ने संवैधानिक व्यवस्तथा छ ।
माघ ७ गते पदभार ग्रहण गरेका झाले राजनीतिक दल, विज्ञ लगायतसँग परामर्श भइरहेको बताए । उनले माघ २३ गतेभित्र संसद बैठक आह्वान गर्ने र संसद बैठकले फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए अनुरुप नै कार्य गर्ने बताए ।
प्रदेश सरकारमा आफुहरुको अनुभव नभएपनि केन्द्रिय सरकार चलाएको अनुभव रहेको भन्दै प्रदेश प्रमुख झाले यो प्रकृयामा केन्द्रिय सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । संसद सञ्चालनका लागि कर्मचारीहरू आउने क्रममा रहेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताए ।