३१ जेठ, विराटनगर। डेगुको संक्रमण फैलिएको मोरङका सवै स्थानीय तहमा रेपिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरिएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम तथा महामारी व्यवस्थापन सम्बन्धमा विराटनगरमा आयोजना गरिएको अभिमुखीकरण बैठकले मोरङका १७ वटै पालिकामा रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग र विराटनगर महानगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाकी स्वास्थ्य संयोजक लजिता योञ्जनले खोज नष्ट अभियानसँगै सचेतनाका लागि माइकीङ मार्फत डेंगुको बारेमा जानकारी गराइएको बताइन ।
कार्यक्रममा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाश साह , स्वास्थ्य सेवा निर्देशनालय प्रदेश १ का निर्देशक भोगेन्द्र डोटेल विश्व स्वास्थ्य संगठनका डाक्टर दिपेन्द्र गौतम लगायतले डेगु नियन्त्रणका लागि खोज तथा नष्ट अभियान आवश्यक रहेको बताएका थिए । कार्यक्रममा मोरङका विभिन्न सरकारी निकाय प्रमुख तथा प्रतिनिधिका साथै स्वास्थसँग सम्बन्धीत व्यक्तिहरुको सहभागिता रहेको थियो ।