३१ जेष्ठ, काठमाडौं ।
स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन फिर्ता नलिए सडक आन्दोलनलाई चर्काउने चेतावनी दिइएको छ ।
लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संसदीय समितिले दिएको सो निर्देशन तत्काल फिर्ता नलिए सडक आन्दोलनलाई चर्काउन बाध्य हुने चेतावनी दिएको हो । समितिका संयोजक मंगल थापाले लाखौं विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्नेगरी आएको संसदीय समितिको सो निर्देशन असार ३ गते भित्र पनि फिर्ता नभए आफूहरु सडक आन्दोलनलाई झनै चर्काउन बाध्य हुने चेतावनी दिए ।
समितिले संविधानको भावना विपरित स्थानीय तहमा तत्कालका लागि करारमा कर्मचारी नियुक्त गर्ने संसदीय समितिको निर्देशन पनि राजनीतिक कार्यकर्तालाई पोस्ने गरी आएको निष्कर्ष निकाल्दै आपत्ति जनाएको छ ।