३२ जेष्ठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रामविर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सुचना प्रविधि तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने बताएका छन् ।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बास्कोटाले आगोमा ध्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा दिनुपर्ने तर्क व्यक्त गरे । मन्त्री बास्कोटाको भनाईले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै उनले अपमान गर्ने विभागिय मन्त्री र सरकारका प्रवत्ताको दिनगन्ती सुरु भएको चेतावनी दिए ।
सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाण्डौमा आन्दोलन चर्काउने चेतावनी पनि दिए । उनले वधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासंग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गरे । उनले २ सय ४० बर्षे राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिए । संगसंगै राजसंस्थाविरुद्ध लडेर आएकाहरुमाथि नै सरकारले दमनको नीति लिएको भन्दै उनले आक्रोश व्यक्त गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए । उनले भूमिगत बसेर हुर्केका कम्युनिष्ट नेताहरुले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु बिडम्बनापुर्ण भएको टिप्पणी गरे ।
संस्कृति विद् डाक्टर गोविन्द टण्डनले सरकारले सबैको सहमतिमा राष्ट्रिय गुठी आयोग गठन गरेर निजी र सार्वजनिक गुठीको संञ्चालन गरि सम्पदाको संरक्षण गरि परम्परालाई कायम राख्नुपर्ने तर्क दिए । गुठी विधेयकको सडक देखि सदन सम्म विरोध हुदै आएको छ । राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दिनहुँजसो गुठी विधेयकको विरोधमा प्रर्दशन हुदै आएको छ ।