२ असार, काठमाडौं ।
यही असारको अन्तिम साता नेपालमा ‘बृहत शैक्षिक मेला’ आयोजना हुने भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यही असारको २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस वर्ष पनि वृहत शैक्षिक मेला आयोजना गर्न लागेको हो । स्वदेश तथा विदेशमा रहेका राम्रा शैक्षिक संस्थाहरुको बारेमा आवश्यक जानकारी दिने उद्देश्यका साथ यस वर्ष पनि शैक्षिक मेला आयोजना गर्न लागिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उनले ४ दिनसम्म चल्ने सो मेलामा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको पनि बताए ।
इक्यानले हरेक वर्ष इक्यानको नाममा शैक्षिक मेला आयोजना गर्दै आएको छ । यस वर्षको मेलामा भारत, चीन, अमेरिका, जापान, अष्ट्रलिया, जर्मन, फ्रान्स, डेनमार्कलगायतका मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरु पनि सहभागी हुनेछन । मेला उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि बढि उपयोगी हुने दावी गरिएको छ ।